इनरुवा / इनरुवा नगरपालिकामा स्थानीय व्यक्तिमा संक्रमण देखिएपछि प्रशासनले लक डाउनको घोषणा गरेको छ । प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको आपतकालिन बैठकले सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालबाटै लागु हुने गरी इनरुवा क्षेत्रमा पूर्ण रुपमा लक डाउन कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो । बिराटनगर स्थित प्रदेश प्रहरी कार्यालयमा कार्यरत सुरक्षाकर्मी कोरोना पोजेटिभ पाइएपछि उनीसँगको कन्ट्याक टे«सिङका आधारमा इनरुवामा लकडाउन गर्ने निर्णय गरिएको सुनसरी प्रशासनले जनाएको छ ।

इनरुवा ३ घर भएका व्यक्ति कार्यालय आउजाउका क्रममा परिवारसँगको सम्पर्कमा आएको आधारमा क्लोज कन्ट्याकको अवस्था पहिचान गरि रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईका अनुसार परिवार सहित १२ जनाको ट्रेसिङ गरिएको छ । उनीहरुको स्वाब लिएर परिक्षण गर्ने तयारी थालिएको प्रसाईले बताए । यसैगरी संक्रमित व्यक्ति इनरुवाका मूख्य बजारमा रहेको दुर्गा स्टोरमा किनमेलका लागि पुगेको खुलेकाले उक्त पसल सुनसरी प्रशासनले तत्कालकालागि सिल गरेको छ ।

संक्रमितको सम्पर्कका आधारमा स्टोरका केही व्यक्तिहरुको समेत पिसिआर परिक्षण गरिने प्रशासनले जनाएको छ । त्यसका अलावा प्रशासनमा बसेको सरोकारवालाको बैठकले मूख्य गरी बजार क्षेत्र सहित इनरुवाका सबै वडाबाट स्याम्पलका आधारमा छनौट गरी पिसिआर परिक्षण गर्ने समेत निर्णय गरेको छ । तत्कालका लागि भने भोलि गरिने पिसिआरको रिपोर्ट नआएसम्म इनरुवा बजारका सबै व्यापार व्यवसाय, बैंक तथा वित्तिय संस्था र सरकारी कार्यालय समेत बन्द गर्ने निर्णय गरिएको सुनसरी प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया