उदयपुरबाट आएका युवकलाई विराटनगरका ठूला अस्पतालले भर्ना नगर्दा एम्बुलेन्समै मृत्यु भएको छ ।
शुक्रबार उपचारका लागि आएका उदयपुरको कटारी नगरपालिका–५ का २३ वर्षीय पदम राईको अस्पताल डुलाउँदाडुलाउँदै मृत्यु भएको हो ।
उदयपुरबाट श्रीमती कमला र बहिनी चमेलीले विराटनगरको नोबेल मेडिकल कलेजमा लगेका थिए । सामान्य अवस्थामा नोबेल पुगेका युवकलाई नोबेलले भर्ना गर्न मानेन् ।
नोबेलले भर्ना नगरेपछि उनीहरुले कोशी अस्पताल विराटनगर ल्याए । तर सरकारी अस्पताल कोशीले पनि भर्ना गर्न चासो देखाएन् । अस्पतालले भर्ना नगर्दा एम्बुलेन्समै पदमले प्राण त्यागे ।
पदमलाई दिउँसो २ बजे विराटनगरको नोबेल शिक्षण अस्पतालमा पुर्याइएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि इमरजेन्सीमा भर्ना गर्नकालागि एम्बुलेन्ससम्म ल्याएको स्ट्रेचर फिर्ता पठायो ।
एम्बुलेन्स चालक सुवास तामाङका अनुसार नोबेलले फिर्ता पठाएपछि कोशीमा ल्याए । तर कोशीमा पनि उस्तै अवस्था भयो ।
‘आकस्मिक कक्षमा भर्ना गर्ने तयारी अस्पतालले गरेको थियो,’ उनले भने, ‘तर श्वासप्रश्वासमा समस्या रहेको थाहा पाएपछि स्ट्रेचरमा राखिएको भए पनि बिरामीलाई अस्पतालले लिनै मानेन ।’
बिरामीमा कोरोना संक्रमण नभएको पुष्टि गर्ने आधार खोजिएको र त्यो आफूहरुसँग नहुँदा नोबेलले लिनै नमानेको बताए ।
कोरोनाको शंकास्पद भन्दै कोसीका चिकित्सकले भर्ना लिन मानेनन् । कोशीमा पुगेर एम्बुलेन्समा राखेको करिब एक घण्टापछि बिरामीको एम्बुलेन्सभित्रै मृत्यु भयो ।
स्वास्थ्यमा समस्या देखिएपछि पदमलाई बिहीबार कटारी अस्पतालमा भर्ना गरिएको थियो । उपचार सम्भव नहुने भन्दै कटारी अस्पतालले रेफर गरिदिएपछि विराटनगर ल्याइएको थियो ।
मृत्यु भइसकेपछि पनि पदमको शव एम्बुलेन्समै दुई घण्टासम्म राखिएको थियो । ‘ चिकित्सकले भर्ना नगर्दा बिरामीको एम्बुलेन्समै मृत्यु भयो,’ आफन्त रोमा गोलेले भनिन्, ‘ अस्पतालले लापरवाही गरेको छ ।’
पदमको मृत्यु भएपछि उनलाई उपचारका लागि लिएर आएका श्रीमती र बहिनी पीडाले बेहोस भएका थिए । एम्बुलेन्सभित्रै बेहोस भए पनि अस्पतालले वास्ता गरेन ।
अस्पतालका कर्मचारी र चिकित्सकले एम्बुलेन्समा बिरामीको मृत्यु हुँदा तथा बिरामीका आफन्त बेहोस हुँदा पनि कुनै ‘रेस्पोन्स’ नगरेको चालक तामाङको गुनासो छ ।
शुक्रबार बेलुका मात्र पदमको शव स्वाब संकलनका लागि भित्र लगेकाे थियाे । काेराेना परीक्षणका लागि मृतकको स्वाब संकलन गरिएको कोसीका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले बताए । अवस्था गम्भिर भएकाले धरान लैजान सुझाव दिएको बताउँदै उनले एम्बुलेन्समा मृत्यु भएको बताए ।























