नेपाल नाइ संघ प्रदेश १ ले सरकारले लकडाउन खुला गरिसक्दा समेत शैलुनहरु नदिएको भन्दैै इटहरीमा विरोध प्रदर्शन गरेको छ ।


लकडाउनका अवधिमा बन्द रहेका अन्य व्यापार व्यवासाय र सवारी साधनहरु समेत खुलिसक्दा समेत सरकारले शैलुन खोल्न नदिएर विभेदको व्यवहार गरेको भन्दै नाइ संघले इटहरीमा र्याली प्रदर्शन गरेको छ । विभिन्न प्ले कार्डसहित स्थानीय जनता खेल मैदानबा सुरु भएको र्यालीले उपमहानगरपालिकाको कार्यलय हुँदै नगर परिक्रमा गरेको थियो । उनीहरुले शैलुन खोल्न पाउनु पर्ने, ५० लाखको कोरोना विमा निःशुल्क गरिनदिनु पर्ने निःशुल्क पीसीआर जाँच गरिदिनुपर्ने, बैंक र सहकारीको व्याज मिनाहा हुनुपर्ने, लकडाउन अवधिको घरभाडा छुट दिनुपर्ने र राहत दिनुपर्ने लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । नेपाल नाइ संघ प्रदेश १ का अध्यक्ष राजेन्द्र ठाकुरले झण्डै ४ महिनादेखि शैलुन बन्द हुँदा दैनिक गुजारा चलाउन नै समस्या परेको भन्दै सरकारले निर्वाध रुपमा शैलुन खोल्न दिनुपर्ने आफुहरुको मुख्य माग रहेको बताए ।

यस्तै मजदुरहरुका विभिन्न संघ संगठनले समेत नाइ संघको मागको विषयमा सरकार गंभीर हुनुपर्ने माग गरेका छन् । नेपाल ट्रेड युनियन महासंघ इटहरीका अध्यक्ष गोकुल थापाले नाइ संघले अन्य सबै व्यवसाय सञ्चालन हुँदा समेत शैलुन खोल्न नपाउनु अन्यायपूर्ण भएको बताउँदै नाइ संघका मागमा आफुहरुको पनि ऐक्यवद्धता रहेको बताए ।

यस्तै नेपाल नाइ संघ जिल्ला अध्यक्ष उमेश ठाकुर तथा इटहरीका अध्यक्ष शिवनारायण ठाकुरले सरकारले आफुहरुको माग सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । उनले आफुहरु कोरोना संक्रमणको जोखिमको विषयमा जानकार रहेको भन्दै संक्रमण नहोस् भनेर आवश्यक सावधानी अपनाएर नै शैलुन सञ्चालन गर्ने बताउनुभयो । नेपाल नाइ संघका अनुसार प्रदेश १ मा १५ हजार मजदुर आवद्ध छन् भने इटहरीमा मात्र ५ सय जना मजदुर आवद्ध रहेका छन् ।

 

तपाईको प्रतिक्रिया