विराटनगर / बैंकको भौचर नक्कली बनाएर यातायात व्यवस्था सेवा कार्यालय विराटनगरमा रकम ठगी गर्ने दुई जना दलाललाई प्रहरीले पक्राउ गरेको छ ।
कार्यालय दलालीको काम गर्दै आएमध्ये विराटनगर महानगरपालिका–४ का २६ वर्षीय सिद्धार्थ चौधरी र २४ वर्षीय विनय गौतम पक्राउ परेका हुन् । नयाँ सवारी साधन पास गर्न तथा सवारीको कर बुझाउन आएका सेवाग्राहीको काम गरिदिने बाहनामा ठगी गरेको पाइएपछि उनीहरुविरुद्ध कार्यालयले प्रहरीमा किटानी जाहेरी दिएको थियो । जाहेरी पर्नासाथ पक्राउ गरेर मंगलबार दुवै जनाविरुद्ध ठगी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।
पक्राउ परेका मध्ये चौधरीले आर्थिक वर्ष २०७६÷०७७ को सवारी साधनको कर तिर्ने क्रममा नक्कली भौचर बनाएर काम गराउँदै ठगी गरेको खुलेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा उनले मात्रै यातायातमा कर वापत जम्मा हुनु पर्ने एक लाख ५० हजार बढी हिनामिना गरेको देखिएको छ । स्पष्ट रुपमा रकम ठगी गरेको नदेखिए पनि गौतम भने ठगीमा संलग्न भएको आशंका पक्राउ परेका हुन् ।

यातयातले आफै आर्थिक कारोबार गर्दैन । बैंकमार्फत आर्थिक कारोबार गर्दै नयाँ सवारी साधन पास र सवारीको कर लिने गरिएको छ । पास गर्दा र कर तिर्दा लाग्ने शुल्क बैंकमा बुझाएको भौचर सवारी धनीले पेस गरिसकेपछि यातायातले त्यही भौचरका आधारमा कार्य सम्पादन गर्ने गरेको छ । तर दलालीको काम गर्नेहरुले काम गरिदिने बहानामा सवारी धनीसँग निश्चित पैसा लिँदै बैंक भौचर भर्नेदेखि लिएर यातायातसँग सम्बन्धित अरु काम गरिदिने गरेका छन् ।
यातायात व्यवस्था सेवा कार्यालय विराटनगरका अधिकृत नवराज गिरीले केही अघि तिरिएको एउटा मिनी ट्रकको करका सवालमा हिसाब नमिलेपछि छानबिन गर्दा दलालले नक्कली भौचर बनाएर रकम ठगी गरिरहेको खुलेको बताए । दलालले बैंकमा ट्रकको कर भनेर पाँच सय रुपैयाँ दाखिला गर्दै भौचर लिएको र यातायातमा भने त्यसैलाई अगाडि २४ थपेर २४ हजार पाँच सय रुपैयाँ बुझाएको देखिने भौचर पेस गरेको गिरीले बताए ।
प्रारम्भिक चरणमा हिसाब मिलान गर्दा गल्ती अवस्थामा भेटिएको र ठगी गरेको प्रभु बैंक लिमिटेडको २३४९७५ नम्बरको भौचर पनि यातायात कार्यालयले प्रहरीलाई बुझाएको छ । उनकाअनुसार कार्यालयमा पहिल्यैदेखि भएका र हिसाब नमिलेका कारोबारका सबै विवरण संकलन गर्दै दलालबाट कति रकम ठगी भएछ भनेर निकाल्ने काम थालिएको छ । गिरीले ठगी गरेको सबै विवरण पत्ता लगाएर दलालविरुद्ध कारबाही अघि बढाउन प्रहरीलाई प्रमाणका रुपमा उपलब्ध गराइने जानकारी दिए ।























