कोरोना भाइरस संक्रमणको नियन्त्रणको लागि नेपाल सरकारले गरेको लकडाउन अन्त्य गरेसँगै समुदायस्तरमा कोरोना संक्रमितको दर बढ्दो छ ।
नेपाली कांग्रेस इटहरीले कोरोना भाइरस समुदायमा फैलिएको आशंका भएकाले यसको नियन्त्रण तथा रोकथामका लागि इटहरी शील गरि लकडाउन गर्न माग गरेको छ ।

इटहरी काँग्रेसका सभापति हेमकर्ण पौडेलले आज एक प्रेस विज्ञप्ती जारी गर्दै कोरोना भाइरस संक्रमणको चपेटामा इटहरीबासी परेको र इटहरीबासीलाई जोगाउन एक परिवार एक नमुना पिसिआर परिक्षण गर्न इटहरी उपमहानगरपालिका समक्ष माग गरेका छन ।

 

इटहरी उपमहानगरपालिका कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको अवस्थामा इटहरीमा पनि कोरोना संक्रमण फैलिएको हुनसक्ने आशंका काँग्रेसले गरेको हो ।

आवश्यक तयारी बिना लकडाउन हटाएको र व्यापक पिसिआर परिक्षणको कमिका कारण कोरोना कहर दिनप्रतिदिन बढ्दो क्रममा रहेको भन्दै इटहरी काँग्रेसले इटहरीबासी सबैलाई कोरोना कहरबाट बच्न आवश्यक स्वास्थ्य सुरक्षा प्रणाली अपनाउदै सजग हुन आग्रह गरेको छ ।
इटहरी कांग्रेसले कोरोनाबाट बच्न आफु बसोबास गर्ने समुदायमा प्रविधिको सहायताले आवश्यक जनचेतना जगाउने कार्यमा सकृय हुन नेपाली कांग्रेस,भातृ तथा शुभेच्छुक संघ संस्थामा आबद्ध सम्पुर्ण तह र तप्काका नेता कार्यकर्ताहरुलाई अपिल समेत गरेको छ ।

तपाईको प्रतिक्रिया