विराटनगर / प्रदेश १ मा ५ महिला र २२ पुरुषसहित २७ जनामा कोरोनाभाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ ।
विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार ३ सय ३८ महिला र ७ सय ७७ जना गरि कुल १ हजार ९३ जनाको पीसीआर परिक्षण गरिएको थियो । जसमा २७ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार मोरङमा १६, सुनसरीमा ११ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताका अनुसार विराटनगर महानगरपालिकामा ४ महिला र ८ जना पुरुष, कहटरी गाँउपालिकामा २ जना, मोरङको बुढीगंगा गाँउपालिका र ग्रामथान गाँउपालिकामा समान १ जना पुरुषमा कोभिड १९ पुष्टि भएको हो। त्यसैगरि, सुनसरीको धरान उपमहानगरपालिकामा १ महिला र ८ पुरुष, बराहक्षेत्र नगरपालिका र इटहरी उपमहानगरपालिकामा समान १ जना पुरुषमा संक्रमण देखिएको प्रवक्ता डा. मेहताले जानकारी दिए ।

यसैबीच विराटनगर महानगरपालिकामा १२ जनामा संक्रमण पुष्टि भएको महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए । कार्कीले विराटनगर ७ मा अवस्थित नापी कार्यालयका २ कर्मचारी, प्रहरी तालिम केन्द्र विराटनगरका २ जना प्रहरी र ३ जना स्वास्थ्यकर्मी, र महानगरपालिकाका विभिन्न वडाबाट ५ जना संक्रमित पुष्टि भएको जानकारी दिए ।
नापी कार्यालयका अनुसार ३६ र ३८ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । कार्यालयका कार्यवहाक प्रमुख गणपति साहका अनुसार शुक्रबार कार्यालयमा ७ जनाको स्वाब परिक्षण गरिएको थियो । सो क्रममा उनले २ जनामा पोजेटिभ देखिएको बताए ।
त्यसैगरि, ३० र ३२ वर्षीय दुईजना पुरुष प्रहरीमा समेत कोभिड १९ संक्रमण पुष्टि भएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखाले जनाएको छ । दुवै जनाको ठेगाना मोरङ कारागार लेखिदाँ केहीसमय अन्योल समेत भएको थियो । यद्धपी, फोन सम्पर्कबाट उनीहरुको वास्तविक ठेगाना पत्ता लागेको महानगरका फोकलपर्सन हैदर अलीले जानकारी दिए ।

यससंगै महानगरमा हालसम्म १ सय २० जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरि, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट २ महिला र ५ पुरुष गरि कुल ७ जना संक्रमित सफल उपचारपछि डिस्चार्ज भएकाछन् । जसमा मोरङ २ महिला २ पुरुष, सुनसरीकी २ महिला र झापाकी १ महिला डिस्चार्ज भएकी हुन् ।

तपाईको प्रतिक्रिया