काठमाडौँ । मोरङको रंगेलीमा एकै परिवारका १४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबार जिल्लामा ४६ जना संक्रमित भेटिएकोमा २२ जना रंगेली नगरपालिकाका रहेका छन् । संक्रमितहरुमध्ये ५ जना विद्युत प्राधिकरण रंगेली वितरण केन्द्रका कर्मचारी, ३ जना जिल्ला अस्पताल रंगेलीका कर्मचारी रहेका छन् । त्यस्तै, २ जना अस्पतालका प्राविधिक र एक जना सहयोगी रहेका छन् ।
वुधबार सोनवर्षी नगरपालिका ८ सक्टीका ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो । उनको कन्ट्याक्ट ट्रेसिङ गर्दा १५६ जनाको परीक्षण गरिएकोमा २२ जनामा संक्रमण पुष्टि भएको र १४ जना एकै परिवारका रहेको जनाइएको छ । मृतक पुरुष रंगेली क्लिनिक, जिल्ला अस्पताललगायत स्थानबाट कोशी अस्पताल आइपुगेको बताइएको छ ।
उनलाई कोरोना पुष्टि भएपछि थप उपचारका लागि धरान रिफर गरिएको थियो । त्यसको केही घण्टामै उनको मृत्यु भएको थियो । रंगेली नगरपालिकाले ३ दिनका लागि बजार क्षेत्र सिल गरेको छ ।























