विराटनगर / कोरोना भाइरसको संक्रमण थप फैलन सक्ने जोखिम रहेको भन्दै विराटनगर महानगरपालिकाले बैंक तथा वित्तिय संस्थामा सावधानी अपनाउन आग्रह गरेको छ । कोरोनाबाट बच्न सेवा प्रवाह गर्दा र सेवा लिँदा होसियारी अपनाउनुको विकल्प नभएको निस्कर्ष महानगरको कोभिड संकट व्यवस्थापन समितिले निकालेको हो । व्यक्ति स्वयं उपस्थित भएर भीडभाड गरी भौतिक रुपमा हुने आर्थिक कारोबार तत्काल बन्द गर्न बैंक तथा वित्तिय संस्थालाई महानगरले आग्रह पनि गरेको छ ।
महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गाप्रसाद खतिवडाले ‘लकडाउन’ अवधिभर सेवाग्राही स्वयं उपस्थित भएर हुने नगद कारोबार बन्द गरेर एटीएम, स्मार्ट बैंकिङ लगायतका विद्युतीय माध्यमबाट हुने सेवा प्रवाहलाई प्रवर्धन गर्न बैंक तथा वित्तिय संस्थालाई आग्रह गरिएको बताए । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा समुदायमा फैलिएको अवस्थालाई मध्यनजर गर्दै नियन्त्रण एवं रोकथामका लागि साउन १६ गतेबाट महानगर क्षेत्रमा दुई साताका लागि ‘लकडाउन’ गरिएको छ ।
‘लकडाउन’मा पनि बैंक तथा वित्तिय संस्थामा सेवाग्राहीको भीडभाड भइरहेको पाइएकाले कोरोना थप फैलने जोखिम उच्च रहेको खतिवडाको भनाइ छ । भीडभाड नगरिकन विद्युतीय माध्यमबाट आर्थिक कारोबार गर्दा एकबाट अर्कोबाट कोरोना सर्ने सम्भावना कम रहने उनले बताए ।























