काठमाडौं / नेपालमा आज थप ६४१ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २६ हजार ६६० पुगेको छ
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ६४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण १०४ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १७ हजार ३३५ पुगेको छ ।
कहाँ कति थपिए संक्रमित ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र १७२ जना संक्रमित थपिएका छन् । काठमाडौैं जिल्लामा १२६ जना, ललितपुरमा ३८ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै मोरङमा १०० जना संक्रमित थपिएका छन् । बाराका ७८, पर्साका ७४, रुपन्देहीका ४८, धनुषाका ३७, चितवनका २७, रौतहटका १४, सप्तरी र कास्कीका ११/११ जना, बाँकेका १० जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
नवलपरासी र महोत्तरीका ८/८ जना, कञ्चनपुर र तनहुँका ५/५ जना, दाङका ४, कैलाली बर्दिया र सिराहाका ३/३ जना, सुनसरी, कपिलवस्तु, सर्लाही, नवलपुर र रोल्पाका २/२ तथा नुवाकोट, सिन्धुली, जुम्ला, रुकुम पश्चिम, इलाम, मकवानपुर, बाग्लुङ, पर्वत, झापा, लमजुङ र ताप्लेजुङका एकएक जना संक्रमित भएका छन् ।























