काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) प्रभावितलाई सहुलियत ब्याजदरमा पुनर्कर्जाको अवसर उपलब्ध गराएको छ । सरकारले कोरोना महामारीबाट अति प्रभावित र मध्यम प्रभावित क्षेत्रलाई मात्र यस्तो अवसर प्रदान गर्नेछ ।
यस्तो कर्जाको अवसरमा सहभागी हुनेहरूका लागि नेपाल राष्ट्र बैंकले सोमबार सूचना जारी गरी आवेदन दिन आह्वान गरेको छ । राष्ट्र बैंकले सोमबारदेखि आगामी १४ असोजसम्म पुनर्कर्जाका लागि आवेदन दिन सकिने बताएको छ ।
यसअघि पर्यटन व्यवसायी, लघु, घरेलु तथा साना उद्योग व्यवसायी र अन्य सेवामूलक संस्था तथा उत्पादनमूलक उद्योगीले कोरोना महामारीबाट आफूहरू निकै मारमा परेको भन्दै सहुलियत पुनर्कर्जाको व्यवस्था मिलाइदिन माग गरेअनुसार अहिले राष्ट्र बैंकले कोरोना महामारीबाट अति प्रभावित र मध्यम प्रभावित क्षेत्रलाई पुनर्कर्जाका लागि यस्तो अवसर उपलब्ध गराइदिएको हो ।

कोरोना प्रभावले थला परेको विभिन्न क्षेत्रका व्यवसायलाई निरन्तरता दिलाउन एकमुस्ट रूपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा, साधारण पुनर्कर्जा तथा विशेष पुनर्कर्जाका लागि आवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले कोरोना प्रभावितले यसअघि सरकारसँग गरेको मागबमोजिम कार्यविधि तयार पारेपछि राष्ट्र बैंकले पुनर्कर्जा उपलब्ध गराउन पहिलो पटक यस्तो प्रस्ताव आह्वान गरेको बताए । उनले कोरोनाका कारण आफ्नो व्यवसाय सञ्चालन गर्न नसक्नेहरूका लागि यो निकै राम्रो अवसर भएको बताए । मधुजंग पाण्डेले राजधानी दैनिकमा समाचार लेखेका छन् ।























