मोरङको बुढिगंगा गाउँपालिका घर भएकी १ कोरोना संक्रमित महिलाको सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।
सोमबार राती प्रतिष्ठानमा भर्ना भएकी बुढीगंगा-२ की ६५ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको हो ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार अस्पतालको आकस्मिक कक्षमा उपचाररत महिलाको मृत्यु भएको हो । मुटु रोगको समस्या रहेकी उनमा श्वासप्रश्वास बढेपछि अस्पताल लगिएको थियो ।
ती महिलालाई २५ साउन विराट मेडिकल कलेजमा हुँदै २७ गते कोसी अस्तालमा भर्ना गरिएको थियो । कोशीमा कोरोना परिक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि उनलाई आफन्तले घरमै लगेका थिए ।
सोमबार स्वास्थ्यमा समस्या देखिएपछि आफन्तले राती नै धरान लगेकामा कोरोनासँग मिल्दो लक्षण देखिएकोले पीसीआर जाँच गरियो । उनमा कोरोना पोजिटिभ देखिएको र लगत्तै मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
यो सँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा कोरोना संक्रमित ८ जनाको मृत्यु भएको छ ।























