मोरङको रंगेली नगरपालिका–५ आँपगाछीमा बुधबारराति मदिरा पसल बन्द गराउँदै गएको प्रहरीसँग स्थानीय बासिन्दाको विवाद हुँदा  तनावग्रस्त बनेको छ ।

साँझ ७ बजेबाट राति ११ बजेसम्म अवस्था असामान्य बन्न पुगेको थियो । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि आवागमन र भीडभाडमा कडाई गर्न खटिएको प्रहरी टोलीले खुल्ला रहेका मदिरा पसल बन्द गराउन खोज्दा विवाद सुरु भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए ।

मदिरा पसल बन्द गर्न र भीडभाड नगर्न आग्रह गर्दा प्रहरीले बल प्रयोग गर्न खोजेपछि अवस्था तनावपूर्ण बनेको बताइएको छ । बल प्रयोग गर्ने क्रममा प्रहरीले नियम उल्लंघन गर्नेहरुमाथि लाट्ठी प्रहार गरेको थियो ।

प्रहरीले अनआवश्यक बल प्रयोग र लाट्ठी प्रहार गरेकोभन्दै विरोधमा उत्रिएका स्थानीय बासिन्दाले राति ११ बजेसम्म आँपगाछी प्रहरी चौकी घेराउ गरे । त्यसक्रममा ढुुंगामुडा र तोडफोड गर्दै सयौंको संख्यामा रहेका स्थानीयले चौकीको सुरक्षाका लागि बनाइएको बाँसको टाटीको बेरा भत्काइदिएका छन् ।

प्रहरीको विरोधमा उत्रिएकाहरुले प्रहार गरेको ढुंगाले लागेर नेपाल प्रहरीका असइ (सहायक निरीक्षक) सन्तोष यादव घाइते भएको एसपी खड्काले बताए ।

‘कोरोना महामारीका कारण भीडभाड हुन नदिने र मानिसको आवतजावत रोक्ने काम भइरहेको थियो । त्यस क्रममा मदिरा पसलहरु खुल्ला रहेको पाइएपछि बन्द गराउन गएको प्रहरी टोलीसँग स्थानीयले विवाद गर्न थाले,’ एसपी खड्काले भने, ‘सम्झाई बुझाई गर्न खोज्दा पनि नमानेर पाँच÷सात सयको संख्यामा भेलाहरुले प्रहरी चौकी घेराउ गर्दै आक्रमण र तोडफोड गर्न थाले । स्थितिलाई नियन्त्रणमा लिन हवाई फायरसमेत गर्नु पर्ने अवस्था आयो ।’

अवस्था थप जटिल बन्दै गएपछि स्थितिलाई नियन्त्रणमा लिन मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राई र इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालको अलगअलग नेतृत्वमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

वडाअध्यक्ष महानन्द मण्डलले कोरोना महामारीका कारण कडाई गर्ने क्रममा सम्झाईबुझाई गर्नु पर्ने भए पनि प्रहरीले सुरुमा लाट्ठी प्रहार गरेपछि अवस्था तनावपूर्ण बनेको बताए । ‘कोरोना नियन्त्रणका लागि भीडभाड र आवागमन रोक्ने सर्वपक्षिय सहमति भएको थियो,’ उनले भने, ‘तर सम्झाईबुझाई नगरिकन सुरुमै प्रहरीले लाट्ठी प्रहार गर्न थालेपछि अवस्था असामान्य बनेको हो ।’उनकाअनुसार रंगेली ५ मा हालसम्म ११ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

तपाईको प्रतिक्रिया