करीब दुई महिनादेखि बन्द रहेको सार्वजनिक यातायात सञ्चालनका लागि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु सकारात्मक भएका छन्।
असार १४ गते पछि स्वास्थ्य मापदण्ड अपनाएर नयाँ मोडालिटीका साथ यातायात सञ्चालन गर्ने तयारीका साथ सम्बन्धित निकायहरुसँग छलफल र परामर्ष शुरु गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारी कल्पना घिमिरेले जानकारी दिइन्।
मोडालिटी कस्तो बनाउने भन्नेमा छलफल केन्द्रित छ, हामी क्रमिक ढंगले अघि बड्दै गएको छौ यातायात सञ्चालनका विषयमा सकारात्मक छलफल शुरु भएको छ, उनले भनिन्। विहीबार स्वास्थ्य मन्त्रालय, यातायात व्यवस्था विभाग, यातायात मजदुर, यातायात व्यवसायी र प्रमुख जिल्ला अधिकारीहरु विच यातायात सञ्चालन गर्ने सम्बन्धमा छलफल भएको थियो।
छलफलका क्रममा व्यवसायीहरुले भने हवाई सेवा असार १७ गते देखि सञ्चालन हुने र पसल तथा बजारहरु समेत खुल्ला भएको भन्दै तत्काल सार्वजनिक यातायातलाई समेत सञ्चालन गर्नु पर्ने माग गरेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक अधिकारीले बताए। लामो तथा छोटो दुरीका यातायात सञ्चालन गरी अर्थतन्त्रलाई समेत विस्तारै चलायमान बनाएर लैजानुको विकल्प नभएको व्यवसायीहरुको सुझाव छ।
व्यवसाय माथि सहुलियत माग गर्दा सरकारले कुनै पनि सुनुवाई नगरेको र व्यवसाय सञ्चालनमा समेत चासो नदेखाएको भन्दै तत्काल मापदण्ड बनाएर १४ गते पछि सञ्चालन गर्न माग गरेको उनले बताइन्। यता प्रमुख जिल्ला अधिकारीहरुले भने सम्वन्धित निकायहरुसँग मरामर्ष शुरु गरेको जनाउदै व्यवसाय सञ्चालनका विषयमा सकारात्मक रहेको जनाएका थिए।























