मोरङको सुनवर्षीमा मादक पदार्थ सेवन (मापसे) गरेका एक पुरुषले ढुङ्गाले हानेर वृद्ध बाबुको हत्या गरेका छन् ।

सुनवर्षी नगरपालिका–४ का ४० वर्षीय दयालु ताजपुरियाले ढुङ्गाले प्रहार गरेर आफ्नै बाबु ६८ वर्षीय टिनताल ताजपुरियाको हत्या गरेको मोरङ प्रहरीका निमित्त प्रमुख डिएसपी मञ्जील मुकारुङले जानकारी दिए । उनका अनुसार मापसे गरेको विषयलाई लिएर भएको सामान्य घरसायी विवादमा दयालुले शनिबार बिहान ६ बजेतिर सुतिरहेकै ओछ्यानमा पुगेर वृद्ध बुवालाई ढुङ्गाले हानेको खुलेको छ ।

छोराले टाउकामा ढुङ्गा प्रहार गरेपछि गम्भीर घाइते भएका टिनताललाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको थियो । कोसीले उपचार सम्भव नहुनेभन्दै सुविधा सम्पन्न अस्पतालमा रेफर गरिदिएपछि गम्भीर अवस्थाका उनलाई लगेर घरमै राखिएको थियो ।

टिनतालको आज (आइतबार) बिहान ५ः३० बजेतिर आफ्नै घरमा मृत्यु भएको डिएसपी मुकारुङले बताए । प्रहरीका अनुसार कोसी अस्पतालले भारतको सिलिगुडी अर्थात सुविधा सम्पन्न अरु नै अस्पतालमा रेफर गरिदिए पनि कमजोर पारिवारिक आर्थिक अवस्थाका कारण वृद्धलाई थप उपचारका लागि परिवारका सदस्यले लैजान सकेनन् । खर्च अभावका कारण थप उपचार पाउननसक्दा उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रहरीले बाबु–छोरीबीच मापसेका विषयलाई लिएर बढेको विवाद हत्याको घटनासम्म पुगेको जनाएको छ । प्रहरीका अनुसार छोराले मापसे गरेर राति होहल्ला गर्न थालेपछि टिनतालले सम्झाईबुझाई गर्दै मापसे गर्न हुँदैन भनेर बाबुले सम्झाईबुझाई गर्न थालेपछि बाबु–छोराबीच विवाद बढेको पाइएको प्रहरी स्रोतले बतायो ।

विवादपछि रिसईबी साँधेर बसेका दयालुले सुतेको ओछ्यानबाट उठ्न नपाउँदै बाबुलाई ढुङ्गाले प्रहार गरेको प्रहरीको भनाइ छ । मदिराको नसामा रहेका छोराले ढुङ्गाले हानेर बाबुको हत्या गरेको घटनाको इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक (इन्सपेक्टर) अनमोल खड्का नेतृत्वको टोलीले अनुसन्धान थालेको छ ।

बाबुको हत्यामा संलग्न दयालुलाई  नियन्त्रणमा लिइसकेको छ । पक्राउ परेका उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइने डिएसपी मुकारुङको भनाइ छ ।

तपाईको प्रतिक्रिया