विराटनगर / विराटनगरस्थित कोसी अस्पतालले कोरोना भाइरस संक्रमितको उपचारमा खटाएका एक चिकित्सकको घरमा चोरी भएको छ । कोसी अस्पतालका मेडिकल अधिकृत डा. पुरनचन्द साहको घरमा चोरी भएको हो । विराटनगर महानगरपालिका–४ जामुनगाछीमा रहेको घरमा चोरी भएको चोरीको यकिन मिति पत्ता लाग्न सकेको छैन । डा. साह ११ दिनदेखि कोसी अस्पतालमै कोरोना संक्रमितको उपचारमा खटिएका थिए ।

डा. साहले मुल ढोकामा लगाएको ताला फुटाएर दराजभित्र राखिएका सुनचाँदी, नगद लगायत गरेर आठ लाख मूल्य बराबरको धनमाल चोरी भएको जानकारी दिए । उनी संक्रमितको उपचारमा खटिँदा श्रीमती पनि एक साताअघि माइत गएकाले घरमा कोही थिएनन् । आफू संक्रमितको उपचारमा रहेको र श्रीमती पनि एक साताअघि माइत गएकाले कोही नहुँदा ताला लगाएर छाडिएको घरमा चोरी भएको उनको भनाइ छ । घरको ताला फुटाएको देखेर छिमेकीले खबर गरेपछि घटनाका बारेमा थाहा पाएको डा. साहले बताए । एक सातादेखि घर खाली रहेकाले कहिले चोरी भयोभन्ने थाहा पाउन नसकेको जानकारी उनले दिए ।

 

डा. साहका अनुसार घरको दराजभित्र राखेको एमबीबीएस उत्तिर्ण गरेको प्रमाणपत्र (सर्टिपिकेट) पनि हराएको छ छ । उनले घटनाका बारेमा प्रहरीलाई जानकारी दिइसकेको बताएका छन् । कोरोना संक्रमितको उपचारमा रहँदा चिकित्सकले दुई सातासम्म घर जान पाउँदैनन् । घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । चोरीमा संलग्नको पहिचान हुन नसकेको र घटनाका बारेमा विभिन्न कोणबाट अनुसन्धान थालिएको मोरङ प्रहरीका निमित्त प्रमुख डीएसपी मञ्जील मुकारुङले बताए । केही समयमै पहिचान गरेर चोरी गर्ने गिरोहलाई पक्राउ गर्दै कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया