इटहरीमा सेनिटाइजर पिएर एक युवकले आत्महत्या गरेका छन् । इलाका प्रहरी कार्याल इटहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) गणेश भट्टराईका अनुसार इटहरी ८ पुष्पलाल चौकका ३२ वर्षीय प्रकाश भन्डारीले सेनिटाइजर पिएर आत्महत्या गरेका हुन् । पिपुल्स हेल्थ मल्टिपल क्याम्पस इटहरी १० मा उद्योग बाणिज्य संघ इटहरीले सन्चालन गरेको आइसोलेसनमा हेल्परको रुपमा काम गर्दै आएका भन्डारीले शुक्रवार राति ८ः३० बजे सेनिटाइजर पिएको भट्टराईले जानकारी दिए । ‘साढे ८ बजे सेनिटाइजर पिएको सूचना प्राप्त भएको थियो, लगत्तै उपचारका लागि धरानस्थित वीपी प्रतिष्ठान लगिएको थियो,’ भट्टराईले भने, ‘घरमा अलिक बढी नै मादक पदार्थ प्रयोग गर्ने गरेको खुलेको छ, घरायसी समस्याकै कारण सेनिटाइजर पिएको हो कि भन्ने अनुमान लगाइएको भएपनि थप अनुसन्धानको क्रममा छौँ ।’ ८ः३० मा उनले सेनिटाइजर पिएपनि उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा राति ९ः३० बजे मृत्यु भएको उनले पुष्टि गरे । उनका अनुसार करीब डेढ महिना अघि आइसोलेसनमा परिवारले नै हेल्परको रुपमा काम लगाइदिएका थिए । घरमा मापसे गरी झैझगडा गर्ने गरेको र त्यहाँ काम गर्दा दाँयाबाँया नगर्ने भन्दै काममा लगाइएको खुलेको छ । अहिले घटनास्थलमा प्रहरीले मुचुल्का उठाउने काम गरिरहेको छ भने कुन सेनिटाइजर पिएको भन्नेबारेमा खुल्न बाँकी रहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको भट्टराईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया