इटहरी / कोरोना कहरको खोपमा जनप्रतिनिधिको मनपरी देखिएको छ । चरणबद्ध रुपमा सञ्चालन भईरहेको खोपलाई प्रभावकारी बनाउन विभिन्न मापदण्ड तय गरिए पनि खोप केन्द्रहरुमा जनप्रतिनिधिले आफु निकट नातागोता तथा कार्यकर्तालाई प्राथमिकता दिदा इटहरीमा तोकिएका अधिकांश खोप केन्द्रहरु अव्यवस्थित देखिएका थिए ।
कोभिडबाट नागरिकलाई जोगाउन सरकारले तोकेको मापदण्ड अनुरुप खोप कार्यक्रम हुनुपर्नेमा खोप वितरण गर्ने भनिएका लक्षित वर्गको सही तथ्यांक नहुँदा खोप वितरणमा हुनेखाने र पहुँचवालाको दबदबा देखिएको हो ।
जारी खोप कार्यक्रममा इटहरीका ५५ बर्ष माथिका नागरिक, ईटहरी भित्रका शैक्षिक प्रतिष्ठानमा कार्यरत शिक्षक कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत मजदुर, स्वास्थ्य केन्द्र तथा औषधालयमा कार्यरत कर्मचारी तथा सफाईकर्मी तथा खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई खोप वितरण गर्ने भनिए पनि खोप केन्द्रमा जनप्रतिनिधिकै प्रत्यक्ष निर्देशनमा तय गरिएको मापदण्ड विपरित फर्जी परिचय पत्र र सिफारिसका आधारमा खोप लगाईएको छ ।
जनताबाट निर्वाचित जनप्रतिनिधिबाटै सरकारले तोकेको मापदण्ड पालना नगरी आफु निकट नातागोता र कार्यकर्तालाई खोपमा प्राथमिकता दिदा ईटहरीमा सञ्चालन भईरहेका खोप केन्द्रमा खोप वितरण गर्ने भनिएका वास्तविक लक्षित वर्गहरुको लामो लाईन लागेको थियो ।
खोप कार्यक्रमलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउन शैक्षिक प्रतिष्ठानमा कार्यरत शिक्षक कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत मजदुर र स्वास्थ्य केन्द्र तथा औषधालयमा कार्यरत जनशक्तिको यथार्थ तथ्यांक नलिदा फर्जी सिफारिस तथा परिचय पत्रका आधारमा जनप्रतिनिधि निकस्थहरुलाई खोप लगाईएको पाईएको छ ।
खोप कार्यक्रमलाई प्रभावकारी बनाउन अहिले खोप वितरण गरिएका लक्षित वर्ग र उमेर समुहलाई वितरण गर्न प्राथमिकता दिनुको सट्टा तोकिएको मापदण्ड र प्राथमिकताकै कमजोरीलाई टेकेर खोपमा झेल भएको प्रष्ट छ । केही निजी विद्यालयहरुले फर्जी सिफारिस र परिचय पत्र बनाएर सयौंको संख्यामा आफु निकटस्थहरुलाई खोपका लागि पठाएको देख्न सकिन्थ्यो । कोरोना कहरबाट बच्न खोपको मापदण्ड बमोजिम सबै नागरिकको खोप पाउने नैर्सगिक अधिकार भएता पनि प्राथमिकता मिचेर जनप्रतिनिधि समेतको मिलेमतोमा जथाभावी खोप वितरण गर्दा प्राथमिकता पाउनुपर्ने नागरिकहरु भने अन्यायमा परेका छन् । अहिले वितरण भईरहेको खोपको रेकर्डलाई प्रतिनिधित्व गर्ने संस्था, उमेर समुह र पक्षलाई समेत छानबीन गर्ने हो भने खोपमा मनपरी भएको प्रष्ट छ ।
खोपमा पहुँच, नातावाद र कृपावाद हावी हुँदा पहिले प्राथमिकतामा पर्नुपर्ने लक्षित वर्ग समुह त मार्कामा परेकै छन् खोप पाउने उमेर समुहलाई समेत अन्याय भएको छ । खोप कार्यक्रमलाई प्रभावकारी बनाउदै कोरोना कहर बिरुद्ध लड्न तोकिएको मापदण्ड र वर्गलाई सही सुचना तथा तथ्यांकका आधारमा खोप वितरण गर्न जरुरी छ ।
स्वास्थ्य जस्तो संवेदनशील विषयलाई राजनितिक चश्माले मात्र नहेरी सबै नागरिकको अविभावक म हुँ भन्ने भावनाका साथ जनप्रतिनिधिले समेत भुमिका निर्वाह गर्न जरुरी छ ।























