इटहरी । पछिल्लो समय कोरोना संक्रमणदर बढेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञा खुकुलो गरी साउन २९ गते सम्म थप गरेको छ ।
डिसिसिएमसीको मंगलबार बसेको बैठकले सुनसरीको धरानमा दैनिक कोरोना संक्रमणदर वृद्धि भइरहेको भन्दै धरानमा निषेधाज्ञा केही कडा गर्ने गरी एक साता अघिको निषेधाज्ञामा जे निर्णय गरेको थियो त्यही लागु गर्ने निर्णय भएको छ ।
सङ्क्रमण अत्यधिक रूपले वृद्धि हुँदै गएको धरान उपमहानगरपालिका क्षेत्रमा सागसब्जी तथा तरकारी पसलहरू बिहान ९ बजे सम्म र अन्य पसलहरू बिहान १० बजे देखि अपराह्न ५ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय डिसिसिएमसीले गरेको छ ।
भारतीय नाकाहरूबाट आवतजावत गर्न निषेध गन, सङ्क्रमण अत्याधिकरूपमा वृद्धि भएको धरान उपमहानगरपालिकामा एन्टिजेन तथा पिसिआर परीक्षण दर बढाउने पनि निर्णय भएको छ ।
सम्बन्धित स्थानीय तहले सङ्क्रमण दर वृद्धि हुँदै गएका क्षेत्रहरूमा आवश्यकता र औचित्य हेरी स्थानीय प्रहरी प्रशासनको सहयोगमा कुनै पनि स्थानलाई आवागमनमा रोक लगाउने वा सिल गर्न सक्ने जिल्ला प्रशासन कार्यालय सुनसरीको सूचनामा उल्लेख छ ।























