विराटनगर / भारतीय सीमा सुरक्षा बल (एसएसबी)को अवरोधका कारण विराटनगर महानगरपालिका–१७ इस्लामपुरमा कल्भर्ट निर्माणको काम अघि बढ्न सकिरहेको छैन । दसगजाबाट पाँच फिट छाडेर थालिएको कल्भर्ट निर्माणको काममा दुई साताअघि एसएसबीले रोक लगाएको थियो । भारतीय बजार जोगवनीबाट आउने पानीका कारण सीमा क्षेत्रअन्तर्गत नेपालतिरको भूभाग डुबानमा पर्न थालेपछि कल्भर्ट निर्माण गर्न खोजिएको वडाध्यक्ष समीर कमरले बताए । उनका अनुसार नेपाली भूमिमा काम गर्न रोकेको भारतीय पक्षले आफ्नातिर भने ड्याम बनाएरै तीनवटा कल्भर्ट निर्माण गरेको छ ।
ड्यामका कारण बर्खाका बेला भारतीय भूमिबाट आउने पानी दसगजा हुँदै नेपाल प्रवेश गरेर सीमा क्षेत्रका तीन सयभन्दा बढी घर डुबानमा पर्ने गरेको कमरले बताए । उनका अनुसार कल्भर्ट बनाउनुअघि आफूहरुसँग नसोधिएको भनेर भारतीय पक्षले काममा अवरोध गरिरहेको हो । आफ्नो भूमिमा डुबान हुनेभन्दै भारतीय पक्षले नेपाली भूमिमा काम गर्न नदिएको वडाध्यक्ष कमरको भनाइ छ । कल्भर्ट नबन्दा मानिसलाई आवतजावत तथा एम्बुलेन्स लगायतका आकस्मिक सवारी साधन सञ्चालनमा समस्या भइरहेको उनले बताए । उनका अनुसार भारतबाट जम्मा भएर आउने पानीको डुबानबाट बच्न पनि निकासका लागि सीमा क्षेत्रमा कल्भर्ट बनाउनुको विकल्प छैन । नालाको पानी नदीमा मिसिने भएकाले कल्भर्टका कारण भारतीय भूमिमा कुनै असर नगर्ने स्थानीयको भनाइ छ ।

दसगजा र नेपाली भूभागतिर फोहोर फ्याल्ने र पानीको निकास कटाउने गरेको भारतीय पक्षले नेपाली भूमिमा भने कल्भर्ट निर्माणमै अवरोध गरिरहेको गुनासो उनीहरुको छ । वडाध्यक्ष कमरले भारतीय भूमिबाट आउने पानीले बर्खाका समयमा इस्लामपुर क्षेत्रका कैयौं घरहरु डुबानमा पर्ने गरेका कारण त्यसकै उचित निकासका लागि काम थालिएको बताए । तर कल्भर्ट निर्माणमै भारतीय पक्षले रोक लगाएपछि काम अलपत्र परेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले समस्या समाधानका लागि प्रयत्न भइरहेको बताए । उनले दुई साताअघि कल्भर्ट निर्माणस्थलको स्थलगत निरीक्षण पनि गरेका थिए । अन्तर्राष्ट्रिय नियमअनुसार नै नेपालतर्फ बनिरहेको कल्भर्ट निर्माणमा भारतीयले अवरोध गरेको पाइएको प्रजिअ निरौलाको भनाइ छ ।

यस विषयमा भारतीय पक्षसँग कुरा राखिसकिएको र आवश्यक पहल भइरहेको उनले बताए । अब हुने दुई देशीय बैठकमा पनि यो मुद्दालाई छलफलको एजेण्डा बनाइने जानकारी निरौलाले दिए । आफ्नो भूमि डुबानमा पर्नेभन्दै काम गर्न नदिए पनि कल्भर्टले भारतीय भूभागमा केही असर नगर्ने उनको भनाइ छ ।























