विराटनगर / कोरोना महामारीका बेला विराटनगरको कोसी अस्पतालमा मनपरी ढंगले जोखिम भत्ता वितरण भइरहेको पाइएको छ । अस्पताल प्रशासनको मनोमानीका कारण कोरोना संक्रमणको समेत प्रवाह नगरिकन जोखिमपूर्ण तवरले काम गरिरहेका तल्ला स्तरका कर्मचारी भने जोखिम भत्ता पाउनबाट बञ्चित भइरहेका छन् । तर कोभिडको व्यवस्थापनमा खटिएको नाममा अस्पतालका सबै प्रशासनीक कर्मचारीले भने भत्ता लिइरहेको खुलेको छ । जोखिम मोलेर बिरामीको सेवामा अहोरात्र खटिने कर्मचारीलाई भने बेवास्ता गरिएको छ ।
अस्पतालको सिफारिसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिममा खट्ने चिकित्सक एवं कर्मचारीलाई तलबको ५० प्रतिशत मासिक भत्ता उपलब्ध गराउने गरेको छ । तर अस्पताल प्रशासनले आसेपासे र पहुुँचवाला एवं प्रशासनीक कर्मचारीका लागि मात्रै भत्ताका लागि मन्त्रालयमा सिफारिस गर्दा जोखिमपूर्ण अवस्थामा रहेका कर्मचारी भने ठूलो विभेदमा परेका छन् ।
विभेदपूर्ण तरिकाले अस्पताल प्रशासनले मिलेमतोमा आफू र आफूनजिककाको मात्रै सिफारिस गरेर भत्ताका लागि मन्त्रालयमा नाम पठाउने गरेको फेला परेको छ । जसको मारमा सयौँ बिरामीको भीडभाडमा रहेर नियमित काम गरिरहेका तल्ला स्तरका कर्मचारीमा परेका छन् । कोसीमा ६२ बेडको कोभिड अस्पताल सञ्चालनमा छ । अस्पतालका प्रमुख, मेट्रोन, केही चिकित्सक र स्वास्थ्यकर्मी, प्रशासनीक कर्मचारीसम्मले जेठ र असार महिनाको जोखिम भत्ता पाइसकेका छन् ।

भीडभाड व्यवस्थापन, कोरोना संक्रमितदेखि लिएर अरु बिरामीको सेवामा खटिने क्रममा संक्रमित भएका कर्मचारीलाई भने भत्तामा भेदभाव भएको स्रोतले बतायो । अस्पतालले भत्ताका लागि मन्त्रालयमा उनीहरुको नाम नै सिफारिस नगरेको पाइएको छ । बिरामीको अत्याधिक भीडभाड हुने ओपिडी (बहिरंग विभाग), आकस्मिक कक्ष, बिलिङ काउण्टर, टिकट काउण्टर, कोरोना शंकास्पदको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिने फिवर क्लिनिकमा खटिने कर्मचारी एवं कार्यालय सहयोगी, स्वीपर (सरसफाईकर्मी) लगायतलाई भने भत्ताविहीन बनाइएको छ ।
‘दैनिक सयौँ बिरामीको भीडमा बसेर काम गरिरहे पनि हामीमाथि विभेद भयो । हाम्रा समस्याको सुनुवाइ नै हुँदैन,’ भत्तामा भइरहेको भेदभावका बारेमा जानकारी दिँदै एक कर्मचारीले भने, ‘बिरामीसँग प्रत्यक्ष सम्पर्कमा रहनेलाई भत्ताबाट बञ्चित गराइएको छ । तर अस्पताल प्रशासनमा कार्यरत रहेका सबैले पाइसके ।’ भत्ताबाट नियतवस बञ्चित गराइएको भन्दै कर्मचारीहरुले भने अस्पतालको काम र बिरामीको सेवा छाडेर कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

कोेभिडका सामग्री ओसारपसार गर्ने, कोरोना लगायतका बिरामीको प्रत्यक्ष सेवामा खटिने र त्यस क्रममा संक्रमितसमेत बनेकाहरुले भत्ताको माग गरेको लामै समय भइसकेको छ । तर सुनुवाइ नगर्ने अस्पताल प्रशासनले बिरामी र अस्पतालमा बढेको भीडभाडसँग सरोकार नै नराख्ने कर्मचारीलाई भने भत्ता दिलाउन भूमिका खेलेको पाइएको छ । उनीहरुलाई कोभिड अस्पतालको व्यवस्थापन, अक्सिजन, कर्मचारी, सुरक्षा, आवास, खाना, यातायात, औषधि, प्रयोगशाला एवं जिन्सी सामान व्यवस्थापन लगायतका नाममा भत्ताको व्यवस्था गरिएको हो ।
अस्पतालमा नेपाल सरकार र अस्पताल विकास समितिको सहित चिकित्सक, नर्सिङ, प्रशासनीक एवं प्रयोगशालाका कर्मचारी, प्राविधिक, सुरक्षागार्ड, श्रेणीविहीन गरी पाँच सय १६ जनाको दरबन्दी छ । चार सय ५० जनाजति कार्यरत छन् । अरु दरबन्दी रिक्त छ । दुई वर्षे छात्तवृत्ति करारतर्फ चिकित्सक र नर्सिङ कर्मचारी गरेर ३७ जना एवं कार्यालय सहयोगीसहित डोर हाजिरीतर्फ ४८ जना कार्यरत छन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास, नर्सिङ कर्मचारी परिचालनको जिम्मेवारीमा रहने मेट्रोन एवं अस्तालकी सूचना अधिकारी मञ्जु यादव, नायब सुब्बा हरि सुवेदीलगायतका सबै प्रशासनीक कर्मचारीले जेठ र असार महिनाकै भत्ता बुझिसकेका छन् । स्रोतका अनुसार यादव र सुवेदी पछिल्लो समय प्रशासनीक तथा आर्थिकदेखि लिएर विभिन्न विवादमा मुछिँदै आएका कर्मचारीहरु हुन् । काम कारबाहीका बेला शंकास्पद भूमिकामा रहने उनीहरु अस्पतालले प्रदान गर्ने सेवा लिनेमा भने अगाडि हुने गरेको स्रोतले बतायो ।
एक जनाले कम्तीमा आठ हजार दुई सय ७९ देखि बढीमा २१ हजार रूपैयाँसम्म मासिक भत्ता पाएका छन् । अस्पतालको सिफारिसमा मन्त्रालयले जेठमा एक सय ९८ र असारमा एक सय ७४ जनालाई भत्ता उपलब्ध गराएको छ ।
आकस्मिक र ओपीडी काउण्टरमा कार्यरत ११ जनामध्ये खरिदार लक्ष्मी थापाले एक महिनाको मात्रै भत्ता पाएकी छन् । भत्ताविहीन बनाइएका १० जनामध्ये सात जनालाई काम गर्ने क्रममै कोरोना संक्रमण भइसकेको छ । सरसफाईकर्मीलाई काममा खटाउने एक जनाले पाए । तर ठूलो संख्यामा रहेका सरसफाईकर्मी भत्ताविहीन बनाइएपछि त्यत्तिकै जोखिम मोलेर काम गर्न बाध्य छन् ।
अस्पताल स्रोतका अनुसार व्यवस्थापनमा खटिएका, बीमा, फार्मेसी र काउण्टरमा काम गर्नेहरुले भत्ता नपाएको गुनासोसहित निवेदन दिएका छन् । अस्पतालकी मेट्रोन एवं सूचना अधिकारी यादव कोभिड अस्पतालमा कोरोना संक्रमितको उपचार र व्यवस्थापनमा खटिनेले मात्रै भत्ता पाएको बताउँछिन् । ‘अस्पतालको प्रशासनमा कार्यरत कर्मचारीले कोभिडको व्यवस्थापनमा कुनै न कुनै हिसाबले भूमिका खेलेका छन्,’ उनले भनिन्, ‘त्यही भएकाले मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार उनीहरुलाई पनि भत्ताका लागि सिफारिस गरिएको हो ।’
सबै कर्मचारीलाई भने दिलाउन नसकिएको बताउँदै यादवले भनिन्, ‘कतिपय नपाउने अवस्थाका कर्मचारीलाई पनि दु:ख गरेका आधारमा भत्ताका लागि सिफारिस गरियो । तर सबैलाई उपलब्ध गराउन मन्त्रालयको निर्देशिकाले मान्दैन ।’ अस्पतालमा कार्यरत सबैले भत्ता पाउनुपर्ने अवस्था रहे पनि सीमित कर्मचारीको मात्रै नाम सिफरिस गर्न बाध्य हुनुपर्ने उनको दाबी छ ।
यादवले स्वास्थ्यमा कोरोना संक्रमितदेखि विभिन्न समस्या भएका धेरै बिरामी उपचारका लागि आउने भएकाले अस्पतालभित्रका सबै कर्मचारी जोखिममा भने रहेको बताइन् । मेसु दासले सबै कर्मचारीलाई भत्ताको सिफारिस गर्दा औचित्य नै पुष्टि गर्न गाह्रो हुने बताए । कोसी अस्पताल विराटनगरमा दैनिक उपचार र स्वास्थ्य परीक्षणका लागि एक हजारभन्दा बढी बिरामी आउने गरेका छन् । दैनिक सय जनाभन्दा बढी कोरोनाका शंकास्पदको पीसीआरआर परीक्षण हुँदै आएको छ ।
(फोटो क्याप्सन : १, कोसी अस्पतालमा देखिएको बिरामीको भीड । यस्तो भीडमा खटिने कर्मचारीहरु भने जोखिम भत्ताविहीन छन् ।























