काठमाडौं / नेकपा एमालेका सचिव भीम आचार्यले पार्टी विभाजनको संघारमा पुगेको भन्दै एकताका लागि ८ बुँदे अपिल जारी गरेका छन्।
विभाजनकारीहरू सक्रिय भएकाले पार्टी गम्भीर संकटमा परेको उल्लेख गर्दै सचिव आचार्यले बुधबार बिहानै पार्टी बचाइदिन देशविदेशमा रहेका नेपालीसमक्ष हारगुहार गरेका हुन्।
‘दुनियाँभरकै प्रतिक्रियावादी शक्तिहरू, देशभित्रका प्रतिगामी सत्ताच्युत तत्त्वहरू र राम्रो काम गरेर होइन अरूलाई बिगारेर, छिर्के लगाएर, फुटाएर सत्तामा जान लालायित प्रतिस्पर्धी शक्ति नेकपा एमालेलाई फुटाउने प्रयत्न गरिरहेको छ,’ आचार्यले भनेका छन्, ‘टुटफुट र विभाजनकारी प्रर्वत्तिलाई हतोत्साहित गर्दै संगीन घडीमा पुगेको पार्टी एकताको रक्षा गर्न र त्यसमा बल प्रदान गर्न म देशविदेशमा रहनुभएका सम्पूर्ण न्यायप्रेमी नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा हार्दिक अपिल गर्दछु।’
























