नेपाली सिने उद्योगमा सबैभन्दा धेरै नाम जोडिने कलाकार हुन्– दीपकराज गिरी र दीपाश्री निरौला । दीपक र दीपालाई जोडी कलाकारका रूपमा हेरिन्छ । यो जोडीले सिने उद्योगमा सँगै काम गर्न थालेको पनि लामो समय भयो । रेडियो नाटक, टेलिचलचित्र हुँदै चलचित्रमा सँगै काम गरेका उनीहरूले संयुक्त रूपमा केही चलचित्र निर्माण समेत गरे । जून चलचित्र उद्योगमा सफल चलचित्रको सूचीमा पर्छन् ।

जोडीमध्ये आज दीपाश्रीको जन्मदिन । दीपाको जन्मदिनमा दीपकले ३० वर्ष अघिका कुरा स्मरण गरेका छन् । दीपकले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, ‘३० वर्ष अघिको कुरा हो । म हरेक दिन रेडियो नेपाल जान्थेँ, नाटक खेल्न । खुट्टामा चप्पल हुन्थ्यो, शरीरमा झुत्रे लुगा । तर आँखामा मिठो सपना थियो ।’

उनले अगाडि लेखेका छन्, ‘मिहिनेत धेरै गरेँ । संघर्ष धेरै भयो, तर सफलता अझै टाढा थियो । हरेक दिन संघर्षसँगै ईश्वरसँग प्रार्थना गरिरहन्थेँ । न मेहनत काम लागिरहेको थियो, न प्रार्थना ! त्यही समय रेडियो नेपालमा एकदिन उनीसँग मेरो भेट भयो ।’ दीपासँगको भेटपछि जीवनले बिस्तारै लय समातेको गिरीले उल्लेख गरेका छन् । उनले अगाडि लेखेका छन्, ‘त्यो भेट बिस्तारै सहकार्यमा बदलियो । ‘राम बिलास धनियाँ’ ५ वर्ष, ‘तीतो सत्य’ १२ वर्ष, विभिन्न चलचित्रहरू १० वर्ष गर्दै आज म यहाँ आइपुगेको छु । मैले ईश्वरसँग धेरै  गुनासो गरेको थिएँ, सफलता मागेको थिएँ तर ईश्वरले आशीर्वादको रूपमा कतिबेला उनलाई मेरो साथी बनाएर पठाएछन् पत्तै  भएन।’

दीपाको प्रशंसा गर्दै दीपकले अगाडि लेखेका छन्, ‘उनी एउटा यस्तो साथी, जो अरूको खुशीका लागि आफ्नो खुशी त्यागिदिन्छ । जो अरूको सपना पुरा गर्न आफ्ना सपनाहरूलाई पिञ्जडामा थुन्न सक्छ । अरूकै लागि हाँस्न सक्ने । अरूकै लागि बाँच्न सक्ने । कसैको आँसु देख्नै नसक्ने । मुख अलि छुच्चो तर मन साह्रै  कमलो । जस्ले जे भनोस् उनी संसारकै सबैभन्दा जाती छिन् । मेरो एउटा साथी छिन् । जो सबैभन्दा माथि छिन् ।’

गिरीले आफ्नो फेसबुक स्टाटसको अन्त्य गर्दै लेखेका छन्, ‘तिमीलाई जन्मदिनको लाखौ, करौडाैँ, अरबौँ, खरबौँ शुभकामना प्रिय साथी दीपा !’

तपाईको प्रतिक्रिया