काठमाडौं– चितवन जिल्ला अदालतले धरौटीमा रिहा भएका रवि लामिछाने, युवराज कँडेल र साधारण तारेखमा रिहा भएकी अस्मिता कार्कीलाई पहिलो पटक साक्षी तारेखका लागि असोज ५ गते बोलाएको छ ।

चितवन जिल्ला अदालतले धरौटीमा रिहा गरेपछि साक्षी तारेखका लागि मिति तय गरेको हो । रवि ५ लाख, युवराज ३ लाख र अस्मितालाई जिल्ला न्यायधिश हेमन्त रावलले शुद्ध तारेखमा रिहा गर्न आदेश दिएका थिए ।

यसैबीच रवि रिहा भएपछि सञ्चारकर्मी लामिछानेले आफूप्रति सहानुभूति प्रकट गर्नेहरुलाई धन्यवाद दिएका छन् । रवि छुटेसँगै समर्थकहरुले काठमाडौंमा पनि खुशीयाली मनाएका छन् । केही दिन यता रविको रिहाईका लागि माइतीघर मण्डलामा दैनिकजसो प्रदर्शन गर्दै आएका समर्थकहरुले आज साँझ काठमाडौंको बानेश्वरमा अविरजात्रासहित खुशीयाली मनाएका हुन् ।

त्यस्तै, रविका समर्थकले चितवनमा पनि खुशीयाली मनाएका छन् । उनको रिहाईको खुशीयाली साँट्न चितवनमा हजारौंको संख्यामा सहभागी भएका थिए । रविको पक्राउसँगै लगातार ११ दिनसम्म समर्थकहरुले चितवनमा विरोध प्रदर्शन गर्दै आएका थिए । उनको रिहाइसँगै समर्थकहरुले सामाजिक सञ्जालहरुमा पनि खुशीयाली मनाएका छन् ।

जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछानेसँग धरौटी माग गरेर छाड्न आदेश दिएको हो। सरकारी वकिलको तर्फबाट गोपीलाल देवकोटा, राजकुमार श्रेष्ठ, स्वागत नेपाल लगायत ८ जनाले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट सुशील पन्त, सुनीलकुमार पोखरेल, सुभाष पोखरेल र राजु थापाले बहस गरेका थिए।

तपाईको प्रतिक्रिया