पछिल्लो समय नेपाली म्युजिक भिडियोमा सर्वाधिक रुचाइएकी मोडल तथा नायिका मलिका महतले चलचित्र ‘सत्यम्’मा काम नगर्ने भएकी छन् । मलिकाले पढाइको कारण देखाउँदै यो चलचित्र छाडेकी हुन् ।

चलचित्र ‘सत्यम्’को तिहार अगाडि वर्कसप पनि भएको थियो । वर्कसपमा अभिनेता राजेश हमाल, अनुपविक्रम शाही, पल शाह, नायिका मलिका महत लगायत सहभागी थिए । चलचित्रको टिम छायांकनको अन्तिम चरणमा रहेको समयमा मलिकाले यो चलचित्र छाडेकी हुन् ।

मलिकाले आफ्नो पढाइ शुरु भएकाले त्यसलाई अगाडि बढाउने सोचका कारण चलचित्र छाडेको बुझिएको छ ।

यो चलचित्रमा अभिनेता राजेश हमालको जोडीको रुपमा नीलम चन्दले काम गर्ने पक्का भइसकेको छ । यस्तै पल शाहको जोडीको रुपमा मलिकाले काम गर्ने निश्चित भएको थियो ।

चलचित्रका निर्देशक शंकर कार्कीले यो विषयमा स्पष्ट जवाफ दिन चाहेनन् । उनले आफू चलचित्रको स्क्रिप्टमा व्यस्त भएको भन्दै आज बेलुकी कलाकारसँग मिटिङ रहेको जानकारी दिए । आफूले पनि मलिकाले चलचित्र छाडेको विषयमा सुनेको कार्कीले बताए ।

रेशम सापकोटाको निर्माणमा तयार हुन लागेको यो चलचित्रमा तीन करोड रुपैयाँभन्दा माथि खर्च हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया