निर्धारित समयभन्दा सात घण्टा ढिलो गरी नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि विद्युतीय मतदान सुरु भएको छ। सोमबार राति ९ बजेदेखि सुरु हुने भनिए पनि अहिले बिहान ४ बजे सुरु भएको थियो। निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले विद्युतीय मेसिन प्रयोग गरी मतदान गरेका हुन्।
ओली सहित शीर्ष नेताहरू सबैले मतदान गरिसकेका छन्। अध्यक्षका अर्का उम्मेदवार भीम रावलले पनि सँगसँगै मतदान गरेका थिए।
कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार विष्णु पौडेल, प्रदीप ज्ञवाली लगायतका नेताहरूले ओलीसँगै मतदान गरेका थिए। निर्वाचन आयोगका संयोजक विजय सुब्बाका अनुसार एकजनालाई मतदान गर्न कम्तीमा ८ देखि १० मिनेट लाग्नेछ।
पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष र सचिव तथा विभिन्न क्लस्टरका केन्द्रीय सदस्यका उम्मेदवार प्रतिस्पर्धा गरिरहेका छन्। अध्यक्ष पदका लागि ओली र भीमले उम्मेदवारी दर्ता गराएका थिए।
सोमबार ११ बजे सूचना जारी गरेर एमाले निर्वाचन आयोगले मतदान राति २ बजे सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको भए पनि त्यसमा पनि २ घण्टा ढिला अहिले बिहान ४ बजे मतदान सुरु भएको थियो।
एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले ‘सर्वसम्मत’ नेतृत्व चयन गर्न भन्दै आइतबार मध्यराति बन्दसत्रमा केन्द्रीय समिति र पदाधिकारीको सूची सार्वजनिक गरेका थिए। त्यसमा ३१ जना नेताको बागी उम्मेदवारी परेको थियो। उनी आफै पनि सर्वसम्मत बन्न सकेनन्।
वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव (तीन) निर्विरोध निर्वाचित भए। ईश्वर पोखरेल, शंकर पोखरेल तथा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमालबाहेक अरूको उम्मेदवारी परेन। त्यसपछि उपाध्यक्ष,सचिव, र विभिन्न क्लष्टरका केन्द्रीय सदस्यहरुबीच प्रतिस्पर्धा सुरु भएको हो।























