विराटनगर । नोवेल शिक्षण अस्पतालमा केही समयदेखि भइरहेको विद्यार्थी आन्दोलनले सशक्त रुप लिएको छ । नोबेलमा अध्ययनका लागि भर्ना हुने तयारीमा रहेका विद्यार्थीको आन्दोलनलाई विभिन्न संघसंगठनले समर्थन गर्दै आन्दोलनलाई थप सशक्त पार्दै गएका हुन् । विद्यार्थीहरुले शिक्षण अस्पताल प्रवेशद्वार अगाडि टायर बालेर अतिरिक्त शुल्क विरुद्ध प्रदर्शन गरेका छन् । मेडिकल कलेजका संचालक शुनिल शर्माले अतिरिक्त शुल्क नतिर्ने विद्यार्थीहरूलाई भर्ना नगर्न र पठनपाठन नगर्न निर्देशन दिएपछि विद्यार्थीहरूले प्रदर्शन चर्काएका हुन् ।

विद्यार्थीले शिक्षण अस्पताल प्रवेश गर्ने मूलगेटमै टायर बालेर प्रदर्शन गरेका हुन् । विद्यार्थीहरूले नोबेल प्रशासनविरुद्ध नाराबाजी गर्दै धर्नामा बसेका छन् । उनीहरूले मेडिकल शिक्षामा देखिएको माफीयाकरण अन्त्य गर्न सरकारसँग माग गरेका छन् । चिकित्सा शिक्षा आयोगले तोकेको एमविविएसतर्फको शुल्कभन्दा नोबेलले २० लाखसम्म बढी असुल गर्न खोजेको विरोधमा १५ दिनदेखि लगातार आन्दोलन हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया