काठमाडौंका विभिन्न बैंकका एटिएमवाट नक्कली कार्ड प्रयोग गरेर रकम झिक्दै गरेको अवस्थामा प्रहरीले पाँच जना खतरनाक चिनियाँ ह्याकरलाई पक्राउ गरेको छ । उनीहरुको समुहले भारतमा ८० करोड रुपैया ह्याक गरेर झिकेर फरार भएका थिए । काठमाडौंका विभिन्न बैंकमा शनिवार पनि पैसा निकाल्ने सोही गिरोह रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानवाट देखिएको छ ।

महानगरीय प्रहरी परिसर टेकुका प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीका अनुसार उनीहरुले केही रकम एटीएम नजिकैका सुरक्षा गार्डलाई समेत फालिदिएका थिए । ‘उनीहरुले पैसा झिकेछन्, सुटकेसमा नअटेपछि नोटका केही बिटा गार्डलाई दिएको बताएका छन्, हामीले गार्डलाई दिएको पैसा फिर्ता गर्नुपर्छ भन्ने बयान दिएका छन्, को गार्डलाई दिए र कति वटा बिटा फालेका हुन भन्ने त अनुसन्धानपछि नै थाहा होला’, सुवेदीले आइतवार गरेको पत्रकार सम्मेलनमा भने ।

एटीएमबाट पैसा झिकेर पक्राउ परेका चिनियाँ नागरिकमा कुनै निराशा नदेखिएको पनि वरिष्ठ उपरीक्षक सुवेदीले बताए । ‘चिनियाँ भाषा हामीले बुझ्दैनौँ, दोभासे प्रयोग गरेर हामीले सोधपुछ गर्‍यौँ, उनीहरु कोही पनि निराश देखिँदैनन्, १ जना अलिअलि चिन्तामा देखिन्थे, अरु चार जना त हाँसिखुसी नै देखिन्छन्, हामी अचम्ममा छौँ’, सुवेदीले भने ।

तपाईको प्रतिक्रिया