उत्पादन हुने सिजनमै व्यापारीले उपभोक्ताबाट चिनीमा मनलाग्दी मूल्य लिने गरेका छन् । व्यापारीहरूले अहिले चिनी किलोको १ सय रुपैयाँसम्म लिने गरेका छन् । यो मूल्य विगतका तुलनामा धेरै हो । चिनीको अत्यधिक माग हुने तिहारमा समेत चिनीको मूल्य प्रतिकिलो ९० देखि ९५ रुपैयाँसम्म थियो ।
साल्ट टे«डिङसँग चिनी नभएकै कारण व्यापारीले विभिन्न बहानामा चिनी उत्पादन हुने सिजनमै प्रतिकिलो १ सय रुपैयाँ लिन थालेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ बताउँछन् । सरकारकै निर्देशनमा सीमित व्यापारीहरूको मिलेमतोमा चिनीमा मनपरी मूल्य लिने काम भएको अध्यक्ष बानियाँको भनाइ छ ।
‘अहिले चिनी उत्पादन हुने सिजन हो, यही सिजनमा किलोकै १ सय रुपैयाँ लिनु भनेको त अचाक्ली नै हो,’ उपभोक्ताकर्मी बानियाँले भने, ‘आफ्नै आँखा अगाडि कालोबजारी भइरहँदा पनि सरकार चुप लागेर बस्नु भनेको झन लाजमर्दाे हो । बजार अनुगमन गरी मूल्य नियन्त्रणमा लिनुपर्ने सरकार किन कानमा तेल हालेर बसेको छ, बुझिनसक्नु छ ।’ यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।























