बैंकका उच्च तहका कर्मचारीकै प्रत्यक्ष संलग्नतामा सप्तकोशी डेभलपमेन्ट बैंकमा करोडौं रकम हिनामिना भएको मुद्दा अब अदालत पुगेको छ। मंगलबार तत्कालीन सिइओ नवीन सुवेदीसहितका १२ जनाविरूद्ध अदालतमा मुद्दा दर्ता भएको छ।

पछिल्लो ६ वर्षको अवधिमा बैंकको १५ करोड ७५ लाख ४० हजार ५७५ रुपैयाँ अपचलन गरेको आरोपमा तत्कालीन सिइओ सुवेदीसहितका नौ जना कर्मचारी र तीन जना खातावालविरूद्ध अदालतमा मुद्दा दायर भएको हो।

‘जिल्ला सरकारी वकिलको कार्यालय मोरङले १२ जनालाई प्रतिवादी बनाएर बैंकिङ कसुर अभियोगमा मुद्दा दर्ता गरेको हो। जिल्ला न्यायाधीवक्ता रामहरि शर्मा काफ्लेले दिएको जानकारीअनुसार उनीहरूलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अनुसार हिमाल भट्टराईसहित १२ जनाविरूद्ध दर्ता भएको मुद्दाको सुनुवाइ उच्च अदालतको वाणिज्य इजलासमा हुनेछ।

अभियोग पत्रमा अपचलन भएको १५ करोड ७५ लाख र ५७५ रुपैयाँ बैंकलाई भराउनुपर्ने, सोही बराबरको रकम जरिवाना र ६ वर्षदेखि ८ वर्षसम्म कैद सजाय माग गरिएको छ।

सरकारी वकिलको कार्यालयले सुवेदीसहित बैंकका जनरल सर्भिस डिपार्टमेन्ट जिएसडी प्रमुख हिमाल भट्टराई, लेखा वित्त प्रमुख देवीप्रसाद भण्डारी, अपरेसन प्रमुख अमित थापा मगर, होमप्रसाद पौडेल, फरार रहेका बैंकका कार्यालय सहयोगी चुडाबहादुर निरौला, बैंकका कार्यालय सहायक पदबाट राजीनामा दिएका निश्चल सुवेदी, बैंकका कनिष्ठ सहायक पदबाट राजीनामा दिएकी समीक्षा अधिकारी, वरिष्ठ सहायक शुभेच्छा निरौला, खातावाला बबिता बस्नेत, कमल दाहाल र मनोज भट्टराईलाई विपक्षी बनाएको छ।

उच्च अदालत विराटनगरका सुपरिटेन्डेन्ट तथा सूचना अधिकारी ओमराज सुवेदीले बैकिङ कसुरमा मुद्दा दर्ता भएकोले बुधबार इजलासमा प्रतिवादीको बयान सुरू हुने र बयान सकिए थुनछेक बहस हुने जानकारी दिए ।

बैंकको रकम अपचलन गर्नेमध्ये तत्कालीन सिइओ सुवेदीले दिदी नाता पर्ने झापाकी बबिता बस्नेतको खाताबाट फरक-फरक मितिमा १४ करोड ६ लाख ९३ हजार ७३५ रुपैयाँ झिकेको देखिएको थियो। बाँकी रकम अन्य कर्मचारीले चलाएको अनुसन्धानमा खुलेको थियो।

तपाईको प्रतिक्रिया