कार्यक्रममा एमाले मोरङका सचिव रूपेश खतिवडा, जिल्ला सदस्य मीनकुमार आचार्य, नवलप्रसाद उपाध्याय, केदार कर्की, शिव थापा, पार्टीका विराटनगर अध्यक्ष सागर थापा, वडा इन्चार्ज एवम् नगर सदस्य रमा रिजाल, शान्तिराम खनाल, चन्द्रप्रसाद अधिकारी, बलराम घिमिरे, अञ्जुश्री श्रेष्ठ लगायतको उपस्थिति थियो ।

पार्टीका वडाध्यक्ष श्रेष्ठले ‘टोलटोलमा सङ्गठन, घरघरमा एमालेजन’ भन्ने नाराका साथ एमालेले सङ्गठन विस्तारलाई तीव्र बनाएर लगेको बताए । स्थानीय तह निर्वाचन नजिकिँदै गइरहेका बेला एमालेले पार्टीका गतिविधीलाई व्यापक बनाउँदै ‘मेरो वडामा म चुनाव जिताउँछु’ भन्ने अभियान सञ्चालन गरेको जानकारी उनले दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य एवम् मोरङ इन्चार्ज ढकालले विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले एमाले नेतृत्वको सरकारले गरेको विकास निर्माणको काम आफूले गरेको भन्दै भजाउने गरिरहेको आरोप लगाएका छन् ।

उनले विराटनगरको विकास सम्बन्धी कुनै योजना नल्याएको तथा एमाले नेतृत्वको सङ्घीय र प्रदेश सरकारले गरेको विकास निर्माणलाई भजाउन मेयर पराजुली व्यस्त रहेको बताए । केपी ओली नेतृत्वको सरकारले जनताका पक्षमा काम गरेपछि विपक्षीले आत्तिएर सरकार ढालेको ढकालको भनाइ छ ।

नेता ढकालले निर्वाचनसमेत गर्न नचाहेको अहिलेको सरकार एमालेकै दबाबमा स्थानीय निर्वाचन घोषणा गर्न बाध्य भएको बताए । विराटनगर महानगरमा काङ्ग्रेसको नेतृत्व पूर्ण रुपमा असफल भएको भन्दै अगामी निर्वाचनमा एमाले सबै वडामा विजयी बन्ने दाबी उनले गरेका छन् ।

कार्यक्रममा बोल्दै एमाले विराटनगर महानगर अध्यक्ष थापाले अहिलेसम्म विकासमा खबरदारी गरिरहेकाले एमाले अब भने विकासको नेतृत्व गर्न तयार रहेको बताए । उनले योजनाहरु जथाभावी रुपमा थोपरिएको र त्यसको भुक्तानीसमेत गर्न महानगर कार्यपालिकाले नसकेको बताए ।

झण्डै ५ वर्षसम्म नेतृत्व गरिरहँदा अहिलेसम्म महानगरले देखाउन लायक विकास गर्न नसकेको थापाको आरोप छ । उनले मेयर पराजुलीले लाज पचाएर सङ्घीय सरकारले बनाएको सडक, प्रदेश सरकारले बनाएको शहीद रङ्गाशालाको फ्लड लाइट र एडिबीले बनाएको सडक महानगरले बनाएको भनेर देखाउने गरेको बताए ।

एमाले मोरङ सचिव खतिवडाले एमालेको नेतृत्व रहेको वडाको विकास तीव्र रूपमा भएको भन्दै अबको निर्वाचनबाट महानगरको नेतृत्वमा एमाले आएपछि व्यवस्थित हिसाबले विकासका थप काम हुने दाबी गरे । महानगरवासीको विकासको आकांक्षा पूरा गर्न पनि एमालेको नेतृत्व आवश्यक रहेको उनको भनाइ छ ।

नेकपा एमाले विराटनगर–५ नम्बर वडा कमिटीले अहिलेसम्म १२ वटा टोल कमिटी गठन गरिसकेको छ । अब थप तीनवटा टोल कमिटी गठन गरिने एमालेका वडाध्यक्ष श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया