नोबेल मेडिकल कलेजमा अध्ययनरत पीडित विद्यार्थीहरूले आफूहरूलाई तत्काल अन्य सार्वजनिक शिक्षण संस्थामा स्थानान्तरण गरिनुपर्ने माग गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनीहरूले चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा अतिरिक्त शुल्क असुल गर्न खोजेको आरोप लगाउँदै स्थान्तरण हुन चाहेको बताएका थिए । उनीहरुले अतिरिक्त शुल्क आफूहरूलाई कदापि मान्य नहुने बताउँदै आएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै विद्यार्थीहरूले नोबेल मेडिकल कलेजमा आफूहरूको भविष्य सफल नहुने, जीवन सुरक्षित नरहने र त्यहाँ राज्यका नीति, नियम र निर्देशन पालन नहुने भएकाले आफूहरूलाई अन्यत्र सार्वजनिक शिक्षण संस्थामा स्थानान्तरण गरिनुपर्ने माग गरेका हुन् । उनीहरू गत मङ्सिर २८ गते देखि निरन्तर आन्दोलनरत छन् ।
कार्यक्रममा बोल्दै पीडित विद्यार्थी श्रद्धा मैनालीले तीन महिनादेखि जारी रहेको आफूहरूको आन्दोलन भौतिक र शैक्षिक सुरक्षाको विषय बनेको बताइन् । यस्तै, उनले नोबेल मेडिकल कलेजबाट विद्यार्थीहरूमाथि मात्र नभएर अभिभावकसम्ममा फोन जान थालेको बताइन् ।
कार्यक्रममा आन्दोलनरत पीडित विद्यार्थी तमन्ना कार्कीले प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । साथै, अर्की पीडित विद्यार्थी सदिच्छा आर्चायले आफुहरुले हार गुहार गर्दापनि राज्यले निरिहता देखाएको आरोप लगाइन् । तिन महिनासम्म विद्यार्थी सडकमा आउँदा पनि चिकित्सा शिक्षा आयोग किन चुप लागेर बसेको छ र भन्दै प्रश्न उठाइन् ।

तपाईको प्रतिक्रिया