इटहरी/ प्रतिबन्धीत नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहले सुनसरीका दुई शैक्षिक संस्थामा बम विस्फोट गराएका छन् । बिहीबार मध्यराती विप्लव समूहले सुनसरीको इटहरी उपमहानगरपालिका स्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिका स्थित दिल्ली पब्लिक स्कुलमा बम विस्फोट गराएको जिल्ला प्रहरी कार्याल सुनसरीले जनाएको छ । सुनसरीमा रहेको सुष्मा गोदावरी कलेजको गेटमा र दिल्ली पब्लिक स्कूलको बाहिरको भागमा विस्फोट गराएको छ । बम विस्फोट गराएर विधार्थी, व्यवसायी उधोगी,स्थानीयवासीमा डर, त्रासको अवस्था सिर्जना गर्ने र चन्दा आतङ्क मच्चाउने योजनाको साथ शैक्षिक संस्थामा बिष्फोट गराएको हुन सक्ने सुनसरीका प्रहरीको अनुमान छ ।केही दिन अगाडि सुनसरीको इटहरीबाट विप्लव समूहका लागि चन्दा उठाउने नाइके पक्राउ परेपछि उनीहरुले नै विस्फोट गराएको प्रहरी बताउछन । घटनाको विषयमा थप अनुसन्धान भइरहेको र बम विस्फोट गराउने विप्लव समूहका कार्यकर्ताको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । 


















