सोलुखुम्बु– फाप्लुबाट स्याङ्बोचेसम्म कार्गो ढुवानी गर्ने क्रममा बिहीबार उडिरहेको हेलिकोप्टरबाट सोलु दूधकुण्ड नगरपालिकाको फेरामा सामग्री खसेको स्थानीयवासीले बताएका छन् ।फाप्लु विमानस्थलबाट स्याङ्बोचे विमानस्थलमा कार्गो ढुवानी गरिरहेको कैलाश एयरको हेलिकोप्टरबाट सिरकलगायतका सामग्री झरेको उनीहरुको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले कम्पनीले सामग्री ढुवानी गर्दा विशेष सावधानी अपनाउनुपर्ने बताए । स्थानीयवासीले फोन गरेर उडिरहेको हेलिकोप्टरबाट सामग्री खसेको जानकारी दिएको प्रजिअ खनालले बताए ।
कम्पनीको सानो कमजोरीले ठूलो दुर्घटना हुने प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाको भनाइ छ । सामान ढुवानी गर्दा सुरक्षालाई विशेष ध्यान दिनुपर्ने उनले बताए । कैलाश एयरका कर्मचारी बिलक श्रेष्ठले भने अञ्जानमा गल्ती भएकाले त्यसलाई सुधार्ने बताए ।
नियोजित नभई ध्यान दिँदादिँदै सिरकको पोको झरेकाले आउँदा दिनमा सुधार्ने उनको प्रतिबद्धता छ । उक्त हेलिकोप्टर क्याप्टेन आशिष शेरचनले उडाएका थिए । विगतका दिनमा समेत सामान झर्ने गरेको बताइएको छ ।