मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आज सोमबार साउन ९ गतेबाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यो मध्ये ५% अर्थात् ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोष र २% अर्थात् २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १० लाख ९३ हजार ७४९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा साउन १२ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन २३ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटल लिमिटेडले गरेको छ । कम्पनीलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने ‘केयरएनपी डबल बी प्लस आइएस’ रेटिङ प्रदान गरेको छ । मन्दाकिनीले कास्की जिल्लामा ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया