नेकपाको जिल्ला कमिटीको सपथग्रहणमै झडप, प्रभु शाहमाथि आफ्नै कार्यकर्ताले गरे हातपात

बर्दिबास – सत्तारुढ दल नेकपाको सप्तरी र सिरहाको जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुको सथपग्रहण कार्यक्रममा दुई पक्षबीच झडप भएको छ ।

मंगलबार महोत्तरीको बर्दिबासस्थित बर्दिवास सेवा सदनको भवनमा विवादबीच दुई जिल्ला कमिटीको शपथग्रहण गर्न खोज्दा झडप भएको हो । यसक्रममा प्रदेश–२ का अध्यक्ष प्रभु साह र सचिव समुनराज प्याकुरेलमाथि आफ्नै पार्टीका कार्यकर्ताले हातपात गरेका छन् ।

केन्द्रीय सर्कुलर अनुसार कमिटी गठन नगरेको आरोप लगाउँदै असन्तुष्ट पक्षले शपथग्रहण स्थगित गर्न माग गर्दै कार्यक्रम अवरुद्ध पारेको थियो । दुई पक्षबीच झडपको स्थिति भएपछि प्रहरीले कार्यकर्तामाथि लाठी प्रहार गरेको थियो ।

झडपका क्रममा सिराहाका प्रदेश कमिटीका सदस्य देवनाथ यादवको टाउको फुटेको छ । उनको टाउकोमा आठ वटा टाँका लगाइएको छ । सप्तरीमा पूर्व एमाले र सिराहामा पूर्व माओवादीको कार्यकर्तामा असन्तुष्टि रहेको छ । असन्तुष्टिका बीच मंगलबार बिहान सिराहा र सप्तरी जिल्ला कमिटीको शपथग्रहण कार्यक्रम बर्दिवासमा राखिएको थियो ।

जिल्ला कमिटी गठनमा असन्तुष्ट रहेको पक्षले सपथ ग्रहण कार्यक्रममै गएर हातपात गरेको हो । सपथ ग्रहण रोक्न आग्रह गर्दा अध्यक्ष साह र सचिव प्याकुरेलले बेवास्ता गर्दै कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएपछि उनीहरुमाथि हातपात भएको कार्यक्रममा उपस्थित नेकपाका एक कार्यकर्ताले बताए । दुवै नेतालाई अहिले प्रहरीले सुरक्षा दिइरहेको छ । असन्तुष्ट कार्यकर्ताले कार्यक्रम स्थलमा कुर्सी तोडफोड गर्दै नाराबाजी गरेका छन् । प्रदेश सचिव प्याकुरेलले भने हातपात र झडप नभई सामान्य विरोध भएको बताए ।

असन्तुष्ट पक्षले भने सप्तरी र सिरहमा जिल्ला कमिटी गठन गर्दा काखापाखा गरेको र पार्टीमा योगदान गरेका इमानदार कार्यकर्तालाई छुटाइएको आरोप लगाएको छ । योग्यता नै नपुगेका व्यक्तिलाई जिल्ला कमिटीमा ल्याइएको र पार्टीका लागि योगदान दिएकालाई पाखा लगाएको भन्दै नेता कार्यकर्ताबीच विवाद छ । जिल्ला कमिटी गठनप्रति तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र दुवैतर्फका नेतारकार्यकर्ता असन्तुष्ट छन् ।

कुल १ सय ६५ सदस्यीय कमिटीमा तत्कालीन नेकपा एमालेका तर्फबाट सचिवसहित ८४ र माओवादी केन्द्रका तर्फबाट अध्यक्षसहित ८१ सदस्य छन् । शपथग्रहण कार्यक्रममा नै प्रशिक्षण चलाउन योजना बनाएको र केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेल आउने भनिए पनि विवाद समधान नभएपछि गएनन् ।

आठ जिल्ला रहेको प्रदेश नम्बर २ का पूर्व एमालतर्फ सिराहा, सर्लाही र बारा बाहेक अन्य स्थानमा जिल्ला कमिटी चयनमा असन्तुष्टि रहेको छ । त्यसैगरी माओवादीतर्फ सबै जिल्लामा असन्तुष्टि रहेको एक केन्द्रीय सदस्यले बताए । यसअघि पनि पटक पटक विवाद समाधान गर्नका लागि बैठकहरु भएपनि प्रदेश नम्बर–२ मा कमिटी गठनमा सहमति बन्न सकेको छैन ।

तपाईको प्रतिक्रिया