इनरुवाको नापी शाखामा अख्तियारको स्ट्रिङ अप्रेसन

घुससहित नापी शाखाका सर्भेक्षक र मध्यस्थकर्ता पक्राउ

इनरुवा । बेथितिको पराकाष्टको रुपमा परिचित इनरुवामा रहेको नापी शाखामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्ट्रिङ अप्रेसन गरेको छ ।

सेवाग्राहीहरुलाई अनावश्यक झण्झट र दुःख दिएर रकम असुली गर्ने, नक्सा विगारेर संसोधनको नाममा असुली गर्ने र एक छिनमा हुने काममा सेवाग्राहीहरुलाई धेरै दिन झुलाउने जस्ता गुनासो आईरहेको बेलामा अख्तियारले स्ट्रिङ अप्रेसन गरेको हो ।

सोक्रममा सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले २ जनालाई पक्राउ गरेको छ ।

अख्तियारका अनुसार घुस माग्ने नापी कार्यालय सुनसरीका सर्वेक्षक मागेन महतो र घुसको सेटिङ मिलाउने लेखनदास रामनारायण पोद्दारलाई नगद ११ हजार रुपैँयासहित अख्तियारको स्थलगत अनुगमनमा गएको टोलीले पक्राउ गरेको हो ।

नक्सा सुधार गर्न पुगेका सेवाग्राहीसँग घुस मागेका दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले पक्राउ गरेको निमित्त प्रमुख ज्ञानेन्द्र ढकालले जानकारी दिए ।

गोप्य सुचनाका आधारमा उनीहरुलाई रंगेहात पक्राउ गरिएको निमित्त प्रमुख ढकालले जानकारी दिए । पक्राउ परेका दुवै जनाको विषयमा थप अनुसन्धान भईरहेको उनले जानकारी दिए । अख्तियारले सूचना दिनेको नाम गोप्य राखेको छ ।

अख्तियार स्रोतले नापी शाखा सुनसरीको गतिविधिको विषयमा धेरै गुनासा र उजुरी आएको उल्लेख गर्दै उजुरी दिनेहरुसँग समन्वय गरेर सो कार्यालयमाथिको निगरानी बढाएको जनाएको छ ।

उनका अनुसार सेवाग्राहीका जग्गाका नक्सा कर्मचारीहरुले घरमा राखेर नक्सा भेटिएन भन्दै असुली गरेर पछि निकाल्ने गरेको, भएका नक्सालाई धुजा धुजा बनाएर फाईल नक्सा बनाउने नाममा असुली गर्ने गरेको, कार्यालयबाट हुने कुनै पनि काममा रकम नलिई काम नगर्ने गरेको, कार्यालयमा आएका सेवाग्राहीलाई सेवा दिने भन्दा पनि जग्गा कारोवारीहरुको प्लटिङको कामलाई फिल्डमा खटिएको रेकर्ड जनाउने, कार्यालयमा आएर आधिकारिक रुपमा फिल्ड नापका लागि निवेदन दिनेहरुलाई हप्तौ कुराएर तत्काल रकम दिनेहरुको फिल्ड नापीमा जाने गरेको, फिल्डबुक किताब बिगारेर अन्यथा गर्ने गरेको जस्ता धेरै खाले उजुरी अख्तियारमा परेका छन ।

अख्तियारले आफूहरुले आएका गुनासाहरुलाई सर्ट लिस्ट गरेर प्राथमिकताका आधारमा अनुगमनसहित स्ट्रिङ अप्रेसन गर्ने योजना बनाएको छ ।

तपाईको प्रतिक्रिया