नेपाल विद्युत प्राधिकरणका कर्मचारीले नयाँ मिटर जडान गर्न र जलेको वा बिग्रेको मिटर मर्मत गर्न कसरी सेवाग्राहीलाई झन्झट दिएर घुसबापत अवैध रकम असुल्छन् भन्ने तथ्य फेला परेको छ । झापाको बिर्तामोडस्थित अनारमनी वितरण केन्द्रका चुहावट तथा अनियमितता नियन्त्रण फाँटका कर्मचारी आफैँ सेवाग्राहीसँग बार्गेनिङ्ग गर्दै घुस माग्ने गरेको खुलासा भएको छ ।

झापाको बिर्तामोड-५ का कृष्ण अग्रवालले आफ्ना बुवा पवनकुमार अग्रवालको नाममा रहेको सिंगलफेज मिटर जलेपछि मर्मतका लागि अनारमनी वितरण केन्द्रमा निवेदन दिएका थिए । सो बापत अग्रवालले विभिन्न शिर्षकमा २ हजार ३ सय ८६ रुपैयाँ ५६ पैसा कार्यालयलाई बुझाउनुपर्ने भयो ।

तर, चुहावट तथा अनियमितता नियन्त्रण फाँटका प्रमुख समेत रहेका मिटर रिडिङ सुपरभाइजर दाताराम घिमिरेले कार्यालयमा मिटर उपलब्ध नभएको तर एकमुष्ट २० हजार रुपैयाँ दिएको खण्डमा मिटर उपलब्ध गराउन सकिने बताए । अग्रवालले आफुसँग तत्काल त्यति रकम नभएको भनेपछि घिमिरेले सबैतिर मिलाउनुपर्ने भएकाले कम्तीमा १५ हजार रुपैयाँ दिनुपर्ने माग गरे ।

तत्काल मिटर मर्मत नभए घर अन्धकार हुने भएपछि अग्रवालले १५ हजार रुपैयाँ जोहो गरी पुनः अनारमनी वितरण केन्द पुगे । अग्रवालले कार्यालय परिसरमै घिमिरेलाई घुसबापत अतिरिक्त १२ हजार ६ सय १४ रुपैयाँ बुझाए । उनले घुसबापत रकम लिएपछि तत्काल हामीले उनलाई किन यसरी अवैध रकम असुलेको भनेर सोध्यौँ, उनले आफुबाट गल्ती भएको भन्दै सेवाग्राहीलाई रकम फिर्ता गर्न खोजिरहेका थिए ।

प्राधिकरणले सिंगल फेजको मिटर जलेमा वा बिग्रेमा एक दिन, थ्री फेजको तीन दिनमा जडान तथा मर्मत गर्न मातहतका ग्राहक तथा वितरण केन्द्रलाई निर्देशन दिएको भएपनि कर्मचारीले विभिन्न बहाना र झन्झट देखाउँदै यसरी नै अवैध रकम असुल्ने गरेको गुनासो सेवाग्राहीको छ । (न्युज २४)

तपाईको प्रतिक्रिया