काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलभित्रको विवाद उत्कर्षमा पुगेको छ। अध्यक्ष जीतजंग बस्नेत र महासचिव भूपेन्द्रजंग शाहीले एकअर्कालाई संगठनबाट कारबाही गरेपछि विवाद उत्कर्षमा पुगेको हो। संगठनको अनुशासनविपरीत काम गरेको भन्दै अध्यक्ष बस्नेतले सदस्यसमेत नरहने गरी महासचिव शाहीलाई पदबाट बर्खास्त गरेका हुन्। त्यसलगत्तै महासचिव शाहीले पनि विज्ञप्ति जारी गर्दै अध्यक्ष बस्नेतलाई संगठनको साधारण सदस्य पनि नरहने गरी पदबाट बर्खास्त गरेका छन्। अध्यक्ष बस्नेत सभापति देउवानिकट हुन् भने महासचिव शाही वरिष्ठ नेता पौडेलनिकट मानिन्छन्।

पार्टीले गरेको दोस्रो चरणको जागरण अभियानमा अध्यक्ष बस्नेतले अभियान सफल पार्न सर्कुलर जारी गरेका थिए। महासचिव शाहीले आन्तरिक विवाद नमिलाई गरिएको अभियान नौटंकी मात्र भएको विज्ञप्ति जारी गरेका थिए। महासचिव शाहीले भ्रष्टाचारविरोधी अभियानमा लाग्न सर्कुलर गरेका थिए। त्यहीँबाट सुरु विवादमा एकले अर्कालाई पदबाटै बर्खास्त गर्नेसम्म आइपुगेको हो। कांग्रेसको प्रभावशाली भ्रातृ संगठन तरुण दलमा लामो समयदेखि विवाद हुँदै आएको छ। पोखरा महाधिवेशनमा शीर्ष नेताको सहमतिबाट चुनिएका ४ जना पदाधिकारीमै विवाद छ।

तरुण दलको तीनवर्से कार्यकाल सकिन दुई महिना मात्र बाँकी छ। विधानअनुसार ९५ सदस्यीय केन्द्रीय समिति हुनुपर्नेमा जम्मा ४ जना पदाधिकारी मात्र छन्। कांग्रेसले पटकपटक तरुण दलको केन्द्रीय समिति विस्तार गर्ने आश्वासन दिए पनि गरेको छैन। सभापति बस्नेतले कारबाही गरेका सिन्धुपाल्चोक उपाध्यक्ष सगुन श्रेष्ठलाई महासचिव शाहीले फुकुवा गरेपछि उनीहरूबीचको विवाद सतहमा आएको थियो। महासचिव शाहीले सीताप्रसाद यादवलाई सप्तरीको अध्यक्ष तोकेर पत्र पठाएका थिए। अध्यक्ष बस्नेतले सिन्धुपाल्चोक उपाध्यक्षलाई गरेको कारबाही यथावत् रहेको र सप्तरीमा कसैलाई पनि अध्यक्ष नबनाएको भन्दै विज्ञप्तिसमेत जारी गरे।

महासचिव शाहीले अध्यक्ष बस्नेतले भ्रष्टारविरुद्धको कार्यक्रम रोकेको, केन्द्रीय समिति विस्तार गर्न नसकेको, बाढीपीडितको नाममा विदेशीबाट उठाएको करोडौँ सहयोग हिनामिना गरेको, संगठनको विधानविपरीत गतिविधि गरेको लगायत आरोप लगाएका छन्। महासचिव शाहीले आफूलाई अध्यक्षले हटाउने कुनै अधिकार नभएको दाबी गरे। ‘उहाँ पनि मजस्तै पार्टीको सर्वसहमतिमा अध्यक्ष हुनु भएको हो। उहाँले मलाई कसरी कारबाही गर्ने रु पार्टीले सर्वसम्मत निर्णय गर्दा मात्रै म हट्छु’, शाहीले अन्नपूर्णसँग भने, ‘यदी उहाँलाई थपघट गर्ने अधिकार भए किन चार सदस्यीय मात्रै समिति रह्योरु ’

अध्यक्ष बस्नेतको गलत कामको भण्डफोर गर्दा आफूमाथि षडयन्त्र भएको उनको दाबी छ। ‘उहाँले नराम्रो काम गर्नुभयो। बाढीपीडितको नाममा विदेशबाट करोडौँ उठाउनुभयो। त्यसको हिसाब किताब छैन। मैले कुरा उठाएपछि ममाथि षडयन्त्र भयो’, शाहीले भने, ‘उहाँको गलत गतिविधिको मैले विरोध गर्न नपाउनेरु यो त कम्युनिष्ट अधिनायकवादजस्तो भएन र ?’

तरुण दलमा भद्रगोल : अध्यक्षले हटाए महासचिव

तरुण दलको विवादमा पार्टी भने मौन छ। विवादका बारेमा अहिले नै केही भन्न नसकिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा बताउँछन्। ‘तरुण दलको विवादलाई नोटिस्टमा लिइएको छ’, उनले भने, ‘अध्ययन गरेर पार्टीले उचित समयमा निर्णय लिन्छ। अहिले नै केही भन्न सकिनँ।’ यसअघि अध्यक्ष बस्नेतले महासचिवले संगठनको हितविपरीत काम गरेको भन्दै महासचिव पदबाट हटाएको विज्ञप्ति जारी गरेका थिए। अाजकाे अन्नपूर्ण पाेस्ट दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया