मोबाइलमा गेम खेल्ने क्रममा करेन्ट लागेर मोरङको लेटाङ नगरपालिकामा बिहीबार बिहान एक बालकको मृत्यु भएको छ। लेटाङ ३ त्रिशूली चोकका पदमबहादुर राईका छोरा १५ वर्षीय सौजन राईको बिहान सवा १ बजेतिर करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए ।
डीएसपी खिउजुका अनुसार सौजन साथी सुरज राईको घरमा सुत्न गएका थिए। दुवैजना एउटै खाटमा सुतेका थिए। सौजनलाई चार्ज गरिरहेको मोबाइलमा गेम खेल्ने क्रममा करेन्ट लागेको र मृत्यु भएको खिउजुले बताए। चार्ज गर्दै मोबाइलमा गेम खेलिरहेका उनलाई एक्कासी करेन्ट लागेको पाइएको उनले बताए । खिउजुका अनुसार सुरजले खाटको भित्तापट्टी सुतेको साथी एक्कासी छट्पटाउन थालेपछि बुवा–आमालाई बोलाएका थिए। चार्जमा रहेको मोबाइलबाट शौजनलाई करेन्ट लागेको थाहा पाएर सुरजले बिजुली समेत बन्द गरिदिएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेका बेला मोबाइल शौजनको हातमै थियो। घटनास्थलमा पुगेको प्रहरीले बन्द अवस्थामा मोबाइल फेला पारेको छ। शौजनको घाँटीमा डढेको छ। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ
शव पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पतालमा लगिएको डीएसपी खिउजुले बताए।

तपाईको प्रतिक्रिया