प्रहरीले एक गर्भवती महिला र उनका २ दिदीबहिनीलाई निर्घात कुटपिट गर्दा गर्भवती महिलाको गर्भपतन भएपछि प्रहरी चौकी इन्चार्ज र एक महिला सिपाहीलाई निलम्बन गरिएको छ ।

भारतको असम राज्यमा भएको यो घटना ८ सेप्टेम्बरको हो तर पीडित महिलाले मंगलबार मात्र मिडियासमक्ष आफूमाथि भएको ज्यादतीबारे बोलेकी थिइन् । महिलाले आफूमाथि भएको ज्यादतीबारे बोलेपछि प्रशानले कारवाही अगाडि बढाएको हो ।

महिलाका अनुसार उनी २ महिनाकी गर्भवती थिइन् र थानामा पिटाइका कारण उनको गर्भपतन भएको छ । पीडित महिलाकी एक बहिनीले आफ्नो पहिचान सार्वजनिक नगर्ने शर्तमा भनिन् ‘दिदी गर्भवती हुनुहुन्थ्यो र पुलिसकोकुटाइपछि धेरै रक्तश्राव भयो ।

पुलिसले दिदीको कम्मर र खुट्टामा डण्डाले हानेको थियो । पछि जब भिनाजुले दिदीलाई लिएर अस्पताल जानुभयो, डाक्टरले भने कि पेटमा भएको बच्चा खराब भइसकेको छ । उहाँको पेटमा २ महिनाको बच्चा थियो ।’ घटना भएको दरंग जिल्लाका अतिरिक्त पुलिस अधीक्षक उज्जल बरुआले बीबीसीलाई बताएअनुसार गुवाहाटीबाट सोधपुछका लागि ल्याइएका ती महिलाहरुका दाजु रउफुल अलीविरुद्ध एक युवतीको अपहरणको मुद्दा दर्ता भएको थियो ।

रउफूलाई खोज्दै गएको पुलिसले घरमा उनका दिदीबहिनी भेटेपछि उनहिरुलाई सोधपुछका लागि थानामा ल्याएको थियो । महिलाहरुले पुलिसले आफूविरुद्ध ज्यादती गरेको बताएपछि अहिले थाना इन्चार्ज महेन्द्र शर्मा र महिला सिपाही विनिता बोडोलाई निलम्बन गरेर अनुसन्धान अगाडि बढाइएको छ ।

तपाईको प्रतिक्रिया