सोमबार सिन्धुलीमाढीमा सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच जिल्ला समायोजन घोषणा कार्यक्रममा समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टीले नै देशलाई समृद्ध बनाउने बताएका छन्। उनले आफ्नो पार्टीले लिएको लक्ष्यका आधारमा मात्र देशलाई समृद्ध बनाउन सकिने बताएका छन्  । सिन्धुलीमा सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच समायोजन भएपछि ११५ सदस्यीय समाजवादी पार्टी जिल्ला कार्यसमिति गठन गरिएको छ ।

“अहिलेको सरकार र नेपाली काङ्ग्रेसको बोली एकातिर र व्यवहार अर्को हुँदा देश समृद्ध हुन सक्दैन”, उनले भने, “तपाईहरुले विश्वास गर्नुस्, हामी समाजवाद र समावेशी लोकतन्त्र ल्याई देशलाई समृद्ध बनाउँदैछोँ ।”  चालीस वर्षभित्र नेपाललाई सिङ्गापुरको जस्तै हैसियतमा पुर्याइने उनको भनाइ थियो । अध्यक्ष भट्टराईले भने, “संविधान बनेर केही उपलब्धि त हात परेका छन् तर यो अपूर्ण र अपूरो छ, यसलाई संशोधन नगरेसम्म देशलाई समृद्ध बनाउन सकिदैन ।”

क्रान्तिको कार्यभार पूरा गर्न बाँकी रहेकाले समाजवादी पार्टीको जन्म भएको उनको भनाइ थियो । सत्य र न्यायको लागि लड्न आफू सदैव तयार रहेको अध्यक्ष भट्टराईले बताएका छन् । समाजवादीका वरिष्ठ नेता अशोक राईले अहिलेको सरकारले विकास बजेटसमेत खर्च गर्न नसकेको बताएका छन् । पार्टीका महासचिव गङ्गानारायण श्रेष्ठले समाजवादी पार्टीलाई जनताले देशको वैकल्पिक शक्ति हैन पहिलो शक्तिको रुपमा देख्न चाहेको बताए ।

तपाईको प्रतिक्रिया