काठमाडौँ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा बिहीबार क्यामेराले घेरिएका थिए पदमबहादुर शाही । त्यससँगै बर्सिरहेका प्रश्नको जवाफ दिँदादिँदा थकित भएझैं देखिन्थे । उनकी पत्नी खगित्राले बुधबार मात्र एकैपटक चार सन्तान जन्माएकी छन् तर पदम उति खुसी देखिँदैनन् । चारै सन्तान बाल सघन उपचार कक्ष ९एनआईसीयू० मा छन् । तिनको उपचार खर्चै कसरी धान्ने भन्ने चिन्ता छ उनलाई ।

‘बच्चाहरूको उपचारमै लाखौं खर्च भइसक्यो । अझै कति खर्च हुने हो,’ उनले भने । ९ महिनै नपुगी जन्मिएका चारै बच्चा कृत्रिम स्तनपानको भरमा बाँचिरहेका छन् । एनआईसीयू बसाइ कति लम्बिने हो, टुंगो छैन । एनआईसीयू खर्च एउटै शिशुको दैनिक साढे ४ हजार तिर्नुपर्छ । अरू उपचारसमेत गरी अहिलेसम्म साढे ३ लाखभन्दा बढी खर्च भइसकेको पदमले बताए । ‘धेरै दिन राख्नुपर्‍यो भने कसरी खर्च जुटाउने होला रु’ उनले भने, ‘अहिलेसम्म आफन्तसँग सापटी लिएर चलाइरहेको छु ।’ सात वर्षअघि विवाह भएका उनीहरूले दुई सन्तान मात्र जन्माउने योजना बनाएका थिए । ६ वर्षकी एक छोरी छँदै छिन् । अहिले थप तीन छोरा र एक छोरी जन्मिएका हुन् । शाही दम्पतीको आर्थिक अवस्था बलियो छैन । घर खर्च जुटाउन पदम भारतको दिल्लीमा ल्याब असिस्टेन्टका रूपमा काम गर्थे ।

गर्भमा चम्ल्याहा शिशु भएकै कारण पत्नीलाई स्याहार्नुपरेपछि उनी जागिर छाडेर धनगढी आए । पदमका अनुसार दोस्रो सन्तानको योजना बनाए पनि सफल हुन सकेको थिएन । ‘धनगढीकै एक क्लिनिकमा सामान्य उपचारपछि गर्भ बस्यो,’ उनले भने, ‘तीन महिनापछि भिडियो एक्सरे गर्दा चारवटा बच्चा भएको थाहा भयो ।’

कमजोर आर्थिक अवस्थाका कारण चार सन्तान पाल्न नसकिने ठानेर उनीहरूले गर्भपतनको योजना पनि बनाए । तर आमाको ज्यान थप असुरक्षित हुने भएपछि बच्चा जन्माउनुको विकल्प भएन । गर्भपतन गर्दा पाठेघर फुट्न सक्ने जोखिम रहेको भन्दै चिकित्सकले गर्भपतन नगर्न सुझाएका थिए । जटिल खालको केस भएकाले जिल्लाका स्वास्थ्य संस्थाले थप परीक्षणका लागि काठमाडौं जान सल्लाह दिए । यसक्रममा उनीहरूले जहाजमा आउजाउ गरे ।

खगित्रा भदौ ३१ गते अस्पताल भर्ना भएकी हुन् । त्यति बेला गर्भ ३४ हप्ताको मात्र थियो । त्यसको आठ दिनपछि उनले शल्यक्रियाबाट चम्ल्याहा जन्माएकी हुन् । छोराहरू क्रमशः एक केजी, एक केजी ९५ ग्राम, ९ सय ५० ग्राम र छोरी १ केजी ३ सय ८५ ग्रामका छन् । शाहीका ठूलो बुबाका छोरा ललितबहादुरका अनुसार उनीहरू सुरुमा पाटन अस्पताल गए । पाटनले प्रसूतिगृह जान सुझायो । प्रसूतिले यतिको जटिल केस हेर्न नसक्ने जनाएपछि उनीहरू छेउकै नर्भिक हस्पिटल गए तर त्यहाँ महँगो रेट सुनेपछि केएमसी पुगेका हुन् ।

चारै शिशुको स्वास्थ्य अहिलेसम्म राम्रो रहेको उपचारमा संलग्न चिकित्सक डा। चन्दा कार्कीले जानकारी दिइन् । उनका अनुसार चम्ल्याहा शिशुको स्वास्थ्य अवस्था अहिलेसम्म राम्रो छ । ‘९ महिना नपुगी जन्मेकाले केही दिन एनआईसीयूमा राखेर उपचार गर्नुपर्ने देखिन्छ,’ उनले भनिन्, ‘बच्चाहरूको तौल कम छ । फोक्सो राम्ररी विकास भएको छैन । आमाको दूध चुस्न सक्ने बनाउनुपर्छ । बाहिर राख्दा संक्रमण हुने जोखिम धेरै छ ।’ आमालाई भने बिहीबार आईसीयूबाट जनरल वार्डमा सारिएको छ । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया