विराटनगर / मोरङको रंगेलीमा सुस्तमनस्थितिकी १६ वर्षीय बालिकामाथि सामूहिक बलात्कार भएको घटना पैसा दिएर मिलाउने प्रयास गरिएको सार्वजनिक भएको छ । लामो समयसम्म यस घटनालाई गुपचुप राखियो ।

ललाईफकाई बलात्कार गरेको घटना पैसा दिने भन्दै २४ दिनसम्म गुपचुप राखिएको भए पनि प्रहरीले थाहा पाएपछि सार्वजनिक भयो । इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर कवीन्द्र कार्कीले गाउँका अगुवा, छिमेकी, भद्रभलाद्मी, पीडित र पीडक पक्षबीच भएको छलफलका क्रममा बलात्कारबाट पीडित भएकी बालिकाका परिवारलाई एक लाख ५० हजार रुपैयाँ दिएर घटना बाहिर नल्याउने सहमति भएको बताए ।

गत असार २० गतेको घटना भए पनि विभिन्न डर र धम्कीका कारण पीडित परिवार चुप बस्न बाध्य भएको प्रहरीले जनाएको छ । बालिकामाथि रंगेली नगरपालिका–९ का २५ वर्षीय रोमन मगर, २४ वर्षीय प्रीन्स अधिकारी र २३ वर्षीय सुनिल चौधरीले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । घटनापछि गाउँमा छलफल बोलाइएको र पैसा लेनदेन गरेर घटना गुपचुप राख्ने भनेर कागज समेत गरिएको कार्कीको भनाइ छ । उनले पैसाको लेनदेन हुनु अघि नै थाहा पाएका कारण घटनालाई अनुसन्धानको दायरामा ल्याइएको जानकारी दिए ।

घटनामा संलग्न मध्ये मगर र अधिकारी पक्राउ परेका छन् । चौधरी फरार रहेका कारण खोजी भइरहेको प्रहरीले जनाएको छ । पीडितलाई भने विराटनगरमा ल्याएर एउटा संस्थाको संरक्षणमा राखिएको छ । कार्कीले यति ठूलो जघन्य घटनामा मिल्न पीडित पक्षलाई दबाब दिने, मिलापत्र गराउने, लेनदेनमा कुरा मिलाउने सबैमाथि अनुसन्धान अघि बढाइने बताए । प्रनि कार्कीले यस घटनालाई मिलाउनु पर्छ भन्दै सबै छरछिमेकीले दबाब दिएपछि पीडित परिवार मिल्न बाध्य भएको पाइएको बताए । ‘पीडित पक्षलाई सामाजिक रुपमा दबाब दिँदै मिल्न बाध्य पारेर पैसाको प्रलोभन समेत देखाइयो,’ उनले भने, ‘पीडित पक्ष आर्थिक रुपमा कमजोर रहेकाले पनि पैसाको कुरा आएपछि मिल्न सहमत भएको देखिन्छ ।’ छरछिमेकीले दिएको सामाजिक दबाब, प्रलोभन, डर, धम्की, पीडितको कमजोर पारिवारिक आर्थिक अवस्था आदिले पीडित पक्ष मिल्न बाध्य भएको उनको भनाइ छ ।

घटनाको विषयलाई लिएर गरिएको मिलापत्र अन्नपूर्णसँग सुरक्षित छ । उक्त मिलापत्रमा तीन जना मिलेर जवरजस्ती करणी गरेकोमा पीडितको उपचार लगायत सामाजिक सुरक्षाका लागि एक लाख ५० हजार रुपैयाँ दिने सहमति भएको उल्लेख छ । मिलापत्रमा घटनामा संलग्न तीनै जनाले घटना स्वीकार गर्दै हस्ताक्षर पनि गरेका छन् । कार्कीले बलात्कारमा संलग्न विरुद्ध जवरजस्ती करणी ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिए । प्रहरीले पक्राउ परेका दुई अभियुक्तलाई सार्वजनिक पनि गरेको छ ।

(फोटो क्याप्सन ः सुस्तमनस्थितिकी १३ वर्षीय बालिकामाथि सामूहिक बलात्कार गरेको घटनामा संलग्नलाई सार्वजनिक गर्दै प्रहरी । तस्बिर ः अन्नपूर्ण )

तपाईको प्रतिक्रिया