काठमाडौं । दसैं मनाउन घर जाने यात्रुसँग बढी भाडा असुलेको अभियोगमा प्रहरीले टिकट काउन्टरबाट ५ जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशामा खटिएका प्रहरीले उनीहरुलाई कोटेश्वर र बल्खुबाट आइतबार दिउँसो पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालका अनुसार मकवानपुरका श्रीराम स्याङ्तान, बाराका चन्दन साह, सिन्धुलीका दीपेन्द्र पौडेल, पाँचथरका उपेन्द्र ढुंगाना र महोत्तरीका विशाल घिसिङलाई पक्राउ गरिएको हो । उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालिमाटी र तीनकुनेमा राखिएको छ । आरोपितहरुमाथि ठगी अभियोगमा मुद्दा दायर गरिने एसएसपी ढकालले बताए । उनका अनुसार राजधानीका यातायात काउन्टरको निगरानीमा समेत सादा पोशाकका ट्राफिक प्रहरीलाई खटाइएको छ ।

दसैं लक्षित अग्रिम बुकिङ खुलेपछि ९ जना चालकसमेत पक्राउ परेका छन् । लामो दूरीमा दुईजना चालक अनिवार्य राख्नुपर्ने प्रवाधान उलंघन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । यसैबीच ८५ हजार ९१ यात्रुले उपत्यकाका विभिन्न काउन्टरबाट अग्रिम टिकट बुकिङ गरेका छन् । आइतबार साँझसम्मको अभिलेख अनुसार अग्रिम टिकट खुलेपछि ८० हजार ३ सय ४१ जना राजधानी भित्रिएका र ८८ हजार ८० सर्वसाधरण बाहिरिएका छन् ।

यस्तै १४ वटा नागरिक सहायता कक्षमा टिकट काउन्टर विरुद्ध ८ वटा गुनासारउजूरी परेका छन् । बढि भाडा असुली, सिट नम्बर नखुलेको, भाडा लिएर यात्रु नबोकी बस छुटेको, टिकटमा गाडी नम्बर उल्लेख नगरेको लगायतका उजुरी परेका छन् । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया