झापा / इन्जिनियरका कारण उपभोक्ता समितिका अध्यक्षको मृत्यु भएको आरोप लगाउँदै स्थानीयवासीले गौरादह नगरपालिका घेराउ गर्दै नाराबाजीमा उत्रिएका छन् । विरोधमा उत्रिएका स्थानीयवासीले सोमबार बिहानदेखि अध्यक्षको शव नगरपालिका परिसरमै राखेर नाराबाजीमा उत्रिएका हुन् । घटनालाई साम्य बनाउन नगरपालिका परिसरमा बाक्लो प्रहरी परिचालन गरिएको छ।

गौरादह नगरपालिका ८ स्थित भुडिसिमल बस्ने अन्दाजी ५८ वर्षीय धनवीर राजवंशीको उपचारको क्रममा आइतबार मृत्यु भएको हाे । बुबाको मृत्यु नगरपालिकाका इन्जिनियरको कारण भएको छोरा सूर्य राजवंशीले आरोप लगाएका छन् ।

घटना विवरण अनुसार मृतक राजवंशी (हिजो) आइतबार दिउँसो १ बजे नगरपालिका भुक्तानीका लागि गएका थिए । भुडिसिमल बैराती बजारस्थित टहरा निर्माण समितिका अध्यक्ष रहेका राजवंशी नगरपालिका इन्जिनियर सचिन क्षेत्रीलाई गएर भेटी इन्जिनियरले विभिन्न बहाना बनाउँदै कागजात नमिलेको भन्दै फर्काएपछि राजवंशी कार्यालय परिसरमै बेहोस भएको स्थानीय प्रत्यक्षदर्शीको भनाई छ। नगरपालिकामै बेहोस भएका उनलाई तत्काल उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएको थियो ।

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका विराटनगरस्थित नोबेल अस्पताल नपुर्‍याउँदै उनको बाटैमा मृत्यु भएको थियो। नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ को जेठ महिनामा निर्माण समिति गठन गरी टहरा निर्माणका लागि तीन लाख रुपैयाँ बजेट छुट्ट्याएको थियो। समितिका अध्यक्ष राजवंशीले असारभित्र निर्माण कार्य सम्पन्न गरी भुक्तानीका लागि नगरपालिका पटक-पटक धाउँदै आएका थिए। तर इन्जिनियर क्षत्रीले बिल भौचर, फोटोलगायत अन्य कागजात नमिलेको भन्दै अध्यक्ष राजवंशीलाई फर्काउँदै आएको योजना निर्माणका ठेकेदार युवराज बास्तोलाले जानकारी दिए।

‘समितिले निर्माण कार्य असार मसान्तमै सम्पन्न गरिसकेको थियो’, ठेकेदार बास्तोलाले भने, ‘नगरपालिका इन्जिनियर क्षत्रीले समितिका अध्यक्षलाई यो मिलेन त्यो मिलेन भन्दै पटक पटक दुःख दिँदै आएका थिए।’ ‘नगरपालिकाले समयमा भुक्तानी दिएको भए आज यस्तो दुर्घटना हुँदैन थियो होला ’, उनले थपे।

 

तपाईको प्रतिक्रिया