काठमाडौँ । सभामुख कृष्णबहादुर महरामाथि संसद् सचिवालयमा कार्यरत महिलाले लगाएको दुर्व्यवहार आरोपको सभामुखको निजी सचिवालयले खण्डन गरेको छ । सचिवालयमा कार्यरत एक महिला कर्मचारीले सभामुख महराले आइतबार राति आफ्नै निवासमा आएर यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । आफूलाई दुर्व्यवहार गरेको घटनाबारे प्रहरीलाई जानकारी गराएपछि सभामुख महरा निवासबाट बाहिरिएको उनले बताएकी थिइन् । त्यसैका आधारमा सोमबार साँझ अनलाइन सञ्चारमाध्यममा समाचार आएपछि सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले सोमबार राति विज्ञप्ति जारी गरी खण्डन गरेका हुन् ।

अनलाइन सञ्चारमाध्यमले सम्प्रेषण गरेका समाचार भ्रामक रहेको उनको दाबी छ । ‘सभामुखज्यूले कसैलाई पनि दुर्व्यवहार गरेको कुरा’ कल्पनासमेत गर्न सकिँदैन । हिजो आइतबार घटना भएको भनी जसरी सभामुखज्यूको चरित्र हत्या गर्ने दुष्प्रयास भइरहेको छ, त्यसमा कुनै पनि सत्यता नभएको म सम्पूर्ण मिडिया र सञ्चारकर्मी साथीहरूमा जानकारी गराउँछु,’ मल्लले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सभामुख महरा आइतबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा गएको, २ बजेतिर बालुवाटार निवासमा फर्किएको र त्यसपछि अन्यत्र कहीँ नगएको विज्ञप्तिमा दाबी गरिएको छ । समाचारमा आए जस्तो चस्मा, जुत्ताका कुरा निराधार भएको, महराको चस्मा उनीसँगै रहेको र तस्बिरमा आए जस्तो जुत्ता पनि उनले प्रयोग नगरेको विज्ञप्तिमा उल्लेख छ । सचिवालयले घटनालाई कर्मचारी समायोजनको असन्तुष्टिसँग जोडेको छ ।

‘संघीय संसद् सचिवालयमा स्वास्थ्य शाखाको कुनै दरबन्दी नभएको र संसद् सचिवालयमा कार्यरत स्वास्थ्यकर्मीहरू र ती महिला कर्मचारीले समेत समायोजनको प्रसंग चल्दै गर्दा संसद् सचिवालयमै स्वास्थ्यको दरबन्दी हुनुपर्छ भनी माग गरिरहेको अवस्था थियो,’ विज्ञप्तिमा उल्लेख छ, ‘तर कर्मचारी समायोजनमा सामान्य प्रशासन र स्वास्थ्य मन्त्रालयले नै सबै प्रक्रिया मिलाउने हुँदा मैले त्यसमा काम नगरेको भनी स्वास्थ्य शाखाका कर्मचारीहरू र ती महिला पनि असन्तुष्ट थिए ।’

त्यही असन्तुष्टिलाई लिएर सभामुखबारे पूरै गलत, कपोलकल्पित र अनर्गल समाचार प्रवाह भएको प्रेस सल्लाहकार मल्लको दाबी छ । सभामुखको राजनीतिक उचाइ, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने षड्यन्त्र सुनियोजित एवं योजनाबद्ध रूपमा भइरहेको विज्ञप्तिमा बताइएको छ ।

‘यो जहाँबाट भयोरभइरहेको छ, यो कुनै पनि किसिमले क्षम्य हुन सक्दैन । उहाँको राजनीतिक व्यक्तित्व र छविलाई अरू कुनै पनि हतियारबाट गलाउन नसकेपछि एउटा ‘कठपुतली’ तयार गरी जसरी सामाजिक रूपमा बदनाम गर्ने दुष्प्रयास गरिएको छ, यसको जति कडा शब्दमा भर्त्सना गरे पनि कम हुन्छ,’ विज्ञप्तिमा छ । अाजकाे कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

विज्ञप्ति जस्ताकाे तस्तै

सभामुखज्यूको बारेमा आएका भ्रामक समाचारबारे खण्डन

सम्माननीय सभामुख कृष्णबहादुर महरालाई गम्भीर आरोप लगाई विभिन्न अनलाइन सञ्चार माध्याममा आइरहेका समाचारहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सभामुखज्यूलाई कल्पनै गर्न नसकिने निकै गम्भीर आरोप लगाई आएको समाचारले हामी सबैलाई निकै स्तब्ध बनाएको छ । यी निराधार, कपोलकल्पित र निकै गम्भीर आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न सबैमा जानकारी गराउँदछु ।

समाचारमा उल्लेख गरिएजस्तो ‘सभामुखज्यूले कसैलाई पनि दुव्र्यवहार गरेको कुरा’ कल्पना समेत गर्न सकिदैन । हिजो आइतबार घटना भएको भनी जसरी सभामुखज्यूको चरित्र हत्या गर्ने दुस्प्रयास भइरहेको छ त्यसमा कुनै पनि सत्यता नभएको म सम्पूर्ण मिडिया र सञ्चारकर्मी साथीहरुमा जानकारी गराउँछु । सभामुखज्यू हिजो असोज १२ गते आइतबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा गएको र दिउँसो २ बजेतिर वालुवाटार निवासमा फर्किएको बाहेक उहाँ त्यसपछि अन्यत्र कहीँ नगएको पनि म यसै विज्ञप्तीबाट प्रष्ट पार्न चाहन्छु ।

साथै समाचारमा आएको जस्तो चश्मा, जुत्ताका कुरा पूरै निराधार भएको र उहाँको चश्मा आफैसँग रहेको र सभामुखज्यूले त्यसप्रकारको जुत्ता समेत प्रयोग नगरेको पनि यहाँ उल्लेख गर्न चाहन्छु । संघीय संसद सचिवालयमा स्वास्थ्य शाखाको कुनै दरबन्दी नभएको र संसद सचिवालयमा कार्यरत स्वास्थ्यकर्मीहरु र ती महिला कर्मचारीले समेत समायोजनको प्रसंग चल्दै गर्दा संसद सचिवालयमै स्वास्थ्यको दरबन्दी हुनुपर्छ भनी माग गरिरहेको अवस्था थियो । तर कर्मचारी समायोजनमा सामान्य प्रशासन र स्वास्थ्य मन्त्रालयले नै सबै प्रक्रिया मिलाउने हुँदा मैले त्यसमा काम नगरेको भनी स्वास्थ्य शाखाका कर्मचारीहरु र ती महिला पनि असन्तुष्ट थिए ।

सोही असन्तुष्टिलाई लिएर सभामुखज्यूको बारेमा पूरै गलत, कपोलकल्पित र अनर्गल समाचार प्रवाह भएकोमा सभामुखज्यू समेत निकै दुखित र आश्चर्यचकित हुनुभएको छ । यो प्रकरणबाट जुन किसिमले सभामुखज्यूको राजनीतिक उचाई, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने षड्यन्त्र भएको छ, यो निकै सुनियोजित र योजनाबद्ध रुपमा भइरहेको छ । यो जहाँबाट भयो÷भइरहेको छ, यो कुनै पनि किसिमले क्षम्य हुन सक्दैन । उहाँको राजनीतिक व्यक्तित्व र छविलाई अरु कुनै पनि हतियारबाट गलाउन नसकेपछि एउटा ‘कठपुतली’ तयार गरी जसरी सामाजिक रुपमा बदनाम गर्न दुस्प्रयास गरिएको छ, यसको जति कडा शब्दमा भत्र्सना गरे पनि कम हुन्छ । सभामुखज्यूलाई लगाइएको निराधार र कपोलकल्पित आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले भ्रममा नपर्न सबैमा पुनः विनम्र अनुरोध गर्दछु ।

तपाईको प्रतिक्रिया