धरान / धरान वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एउटा रोचक चोरी भएको छ । डाक्टर मौसम राईको स्कुटरको पछाडिको चक्का चोरीएको हो ।
आइतबार रातिको ड्युटी सकेर मौसम घर फर्कन लाग्दा स्कुटरको चक्कै थिएन । चक्का चोरी भएपछि चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले बिज्ञप्ति नै जारी गरेर विरोध जनाएको छ । बारम्बार चोरी भएको भन्दै असुरक्षा भयो भन्दै विज्ञप्ति दिएको हो ।

प्रतिष्ठानको सुरक्षा व्यवस्था कमजोर हुँदै गएको बिज्ञप्तिमा लेखिएको छ– ‘चक्का चोरेर लैजाँदासम्म त्यतिका समयसम्म पनि सुरक्षा निकायले थाहा नपाउनुले कुन तहको सुरक्षा वयवस्था बिद्यमान छ भन्ने छर्लङ्ग छ ।’सुरक्षा प्रत्याभूति नहुँदा ड्युटि गर्न नसकिने भन्दै दोषीलाई कारवाही र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न समाजले माग गरेको छ ।

यही मेसोमा समाजले प्रतिष्ठानमा भइरहेको अन्य वेथितिमाथि पनि प्रहार गरेको छ । समाजले प्रतिष्ठानभित्र फोहोर व्यवस्थापन नभएको तथा खानेपानीको यथोचित व्यवस्था नभएकोमा पनि आपत्ति जनाएको छ । समाजले तलब नबढाइएकोमा पनि विरोध गर्दै यस्ता सबै वेथिति विरुद्ध ‘कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने’ चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया