सोनापुर मिनरल्स एन्ड आयलको आईपीओ बाँडफाँट बुधबार हुने भएको छ। असोज १४ गतेदेखि खुलेको आईपीओमा असोज १८ गतेसम्म १.५१ गुणा बढी आवेदन परेको छ। बिहीबार साँझसम्म ११ लाख १३ हजार ८ सय ५५ जनाले आवेदन दिएका छन्। अर्थात् करिब डेढ लाख जना आवेदकको हात खाली हुने भएको छ।

कम्पनीले १०० अंकित मूल्यमा १ सय ३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २ सय ३७ रुपैयाँ ५८ पैसाका दरले ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको छ। अर्थात् ९ लाख ७३ हजार २ सय ५४ जनालाई कम्तीमा १० कित्ताका दरले आईपीओ पर्नेछ, बाँकी १ लाख ४० हजार जनाको हात खाली हुने भएको हो। उद्योग प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गरेपछि बाँकी रहेको सेयरसमेत जोडेर कम्पनीले आइतबारदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो।

कम्पनीले जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत (१ अर्ब २३ करोड २० हजार रुपैयाँ) को आधारमा १ करोड २३ लाख २ सय कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। सोमध्ये पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि प्रतिसेयर २ सय २५ रुपैयाँमा १५ लाख ३७ हजार ५ सय २५ कित्ता सेयर निष्कासन गरिएको थियो। उक्त सेयरमा स्थानीय बासिन्दाले १ लाख ३४ हजार ५ सय २० कित्ताका लागि मात्र आवेदन दिएका थिए। जसमा आवेदन दिएका आवेदकलाई माग गरेबमोजिम सेयर बाँडफाँट भइसकेको छ।

त्यसैगरी, कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १२ लाख १६ हजार ५ सय ६८ कित्ता, सामूहिक लगानी कोषका लागि ६ लाख ८ हजार २ सय ८४ कित्ता र कर्मचारीका लागि ६ लाख ८ हजार २ सय ८४ कित्ता पनि बाँडफाँट गरिसकेको छ।

सर्वसाधारणका लागि भने अंकित मूल्य एक सय रुपैयाँमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँमा बिक्री गरेको हो। आईपीओ बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल हो। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई आईआरएन ट्रिपल बी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

तपाईको प्रतिक्रिया