मोरङको कानेपोखरी गाउँपालिका–७ प्रगति टोलस्थित भित्री सडक खण्डमा बुधबार बिहान जीवन विकास नामक लघुवित्तका कर्मचारीबाट मोटरसाइकल र नगद लुटिएको छ । रकम संकलनमा खटिएका संस्थाको रमाईलो शाखामा कार्यरत जुनियर सहायक मोरङको रतुवामाई नगरपालिका–३ का जयकिसन गनगाईंमाथि लुटपाट भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी लक्ष्मीराज अधिकारीले बताए ।

एक ठाउँबाट अर्को ठाउँमा कलेक्सनका लागि जाने क्रममा कर्मचारी लुटिएको प्रहरीको भनाइ छ । लुटपाटमा संलग्नले को ३४ प ४९७ नम्बरको मोटरसाइकल र गनगाईंले उठाएको एक लाख १७ हजार तीन सय ६० रुपैयाँ नगद लगेको अधिकारीको भनाइ छ । उनकाअनुसार पैसा उठाउन जाने क्रममा जंगलको बाटोमा माक्स लगाएर बसेका दुई जना अपरिचित व्यक्तिहरुले घटना गराएको खुलेको छ । डीएसपी अधिकारीले लुटिएको खवर प्राप्त हुन साथ परिचालित प्रहरी टोलीले आधा घण्टापछि मोटरसाइकल भने घटनास्थलबाट दुई किलोमिटर उत्तरमा फेला पारेको जानकारी दिए ।

मोटरसाइकलको आधारमा पक्राउ परिने भएकाले लुटपाटमा संलग्नहरु अलिमाथि छाडेर भागेको हुन सक्ने प्रहरीको भनाइ छ । ‘घटनामा संलग्नको पहिचान हुन सकेको छैन,’ अधिकारीले भने, ‘नजिकै घना जंगल रहेका कारण त्यतैतिर भागेको हुन सक्ने आशंकामा जंगल सिल गरेर खोजी तीव्र पारिएको छ ।’

तपाईको प्रतिक्रिया