दोहा / रोजगारीको गन्तव्य रहेको कतारमा झन्डै ४ लाख नेपाली कामदार कार्यरत छन् । कतार सरकारले न्यूनतम तलब तोक्ने कानुन पारित गरेसंगै कतारमा रहेका नेपाली कामदारहरुलाई ठूलो राहत हुने भएको छ । कानुनमै न्युनतम तलबको व्यवस्था लागु भएपछि अहिले जस्तो कतार आउने अदक्ष कामदारको तलब ९ सय रियाल निर्धारण गरेपनि रोजगारदातालाई कतारले ७ सय ५० रियाल दिन मात्रै बाध्य बनाएको अवस्था हट्नेछ । यसका साथै नेपाली लगायत सबै देशका कामदारले समान तलब पाउने छन् ।

खाडी मुलुकहरुमा कामदारको न्यूनतम तलब तोक्ने कानुन बनाउने पहिलो देश कतार बनेसंगै आइएलओले समेत कतारको प्रशंशा गरेको छ । कतारले सबै देशका कामदारलाई समानरुपमा लागू हुने गरी न्यूनतम तलब तोक्ने कानुन पारित गरेसंगै आँउदो जनवरीदेखि यसलाई कार्यान्वयनमा लैजाने तयारी गरेको छ ।

कतारको मन्त्रिपरिषद बैठकले विदेशी कामदारको न्यूनतम तलब निर्धारण गर्न बनेको मस्यौदालाई पारित गरेको हो । पारित मस्यौदालाई सुरा काउन्सिलमा पेश गरेको छ । कानुन बनाउने प्रक्रियामा सुरा काउन्सिलले सल्लाह मात्रै दिने हो । यसैले पनि अब पारित कानुन लागु हुन मात्र बाँकी छ । न्यूनतम तलब निर्धारण गर्नका लागि प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले संयुक्त अध्ययन पुरा गरिसकेको छ । अन्तर्राष्ट्रिय श्रम संगठनले कतारको निर्णय स्वागतयोग्य रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया